काठमाडौं- 'व्यवस्था त बदल्यौं, अवस्था बदल्ने कहिले ...?' ‘रेलको बाटो भाग २’ गीतको अन्तिममा गरिएको प्रश्न यही हो। ‘रेलको बाटो’ गीत शृंखला वर्तमान समयको जनवादी गीतजस्तो लाग्छ। कुनै समय व्यवस्था बदल्न गाउँ–गाउँबाट उठेकाहरुको अहिले उठीबास लाग्ने अवस्था बनेको छ। ‘गाउँ गाउँबाट उठ’को आधुनिक भर्सन ‘उठीबास’ हुन पुगेको छ। दृश्यमा दुर्गमका दुःखी जनताको जीवनमा कसरी उठीबास लाग्दैछ भन्ने देखाइएको छ। गीतमा त्यहाँको वेदना समेटिएको छ। गीतको स्थायी यस्तो छ-
जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन
ठूलो महल बनाइबस्ने त्यो नि मेरा रहर हैन
व्यवस्था बदल्नका लागि सँगै राजनीति गरेकाहरु सिंहदरबारमा पुगेर मन्त्री भएको विषय समेटिएको छ। भिडियोमा हेलिकोप्टरमा नेता ‘ढुवानी’ भइरहेको दृश्य देखाइएको छ। क्रान्तिका झन्डा बोक्नेहरु र गाउँ भनेर कुर्नेहरु हेरेका हेर्यै भएका छन्। यहाँसम्मकी व्यवस्था फेर्न राजनीति गरेको समयमा आफ्नै घरमा खाना खुवाएका नेता हेलिकोप्टरमा गाउँमा आएको समयमा नचिन्दा बिरामी श्रीमतीलाई उपचारका लागि लैजान नपाएका पुरुषले नेतामाथि जुत्ता प्रहार गरेको दृश्य पनि देखाइएको छ।
व्यवस्थामा परिवर्तन आयो। नयाँ संविधान अनुसार देशभर स्थानीय तह बनेर कम सुरु भएका छन्। स्थानीय तहलाई गाउँका सिंहदरबार पनि भनियो। नयाँ संविधानसँगै सिर्जना भएका स्थानीय तहले काम सुरु गरेपछि अवस्थामा परिवर्तन आउने अपेक्षा थियो। सबैको घरमा डाक्टर नपुगे पनि सबै बिरामी अस्पतालसम्म पुग्ने र स्वास्थ्य सेवा लिन सक्ने परिकल्पना थियो। तर, संविधान र विभिन्न कानुनले गरेका सामान्य व्यवस्था समेत कार्यान्वयन नहुँदा सर्वसाधारणले अहिले पनि आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्।
प्रजातन्त्र वा गणतन्त्रका लागि भनेर ज्यान दाउमा पार्नेहरु अहिले गाउँमा समस्यासँग अर्को ‘जनयुद्ध’ गरिरहेका छन्। बिरामी भएर उपचार गराउन लैजान न यातायात व्यवस्था छ, न उपचार गर्ने पैसा हुन्छ। त्यही कुरा गीतमा यसरी प्रस्तुत गर्छन् पण्डित-
ऋण मागौं त पत्याउँदैनन् के पर्यो विपत्ति
कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती
भिडियोमा श्रीमती रोगले छट्पटिएको दृश्य प्रस्तुत गरिएको छ। अहिले पनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव उस्तै छ। यी कुरा अब समाचार बन्न छाडिसके। नियमित कुरा कसरी समाचारका विषय बनुन्? बच्चा जन्माउन नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ। उपचार कति दूर छ र दुसाध्य छ, सिंहदरबार नजिककै रहेको वीर अस्पतालमा दुर्गमका बिरामीको लाइन हेरे पुग्छ।
बझाङ्गका सांसद प्रकाश रसाइली स्नेही गर्भवती महिलाको उद्धार गर्न संसदमा आवाज उठाउनुपर्ने बाध्यता रहेको बताउँछन्। ‘गर्भवती महिलालाई उद्धार गर्नका लागि संसदमा आवाज उठाउनुपर्ने बाध्यता छ। दुर्गमका लागि योभन्दा दर्दनाक अरु कुन अवस्था होला र?’ उनको प्रश्न छ।
पहिलो शृंखलामा सुदूर र कर्णाली प्रदेशका पहाडी भूभागको बाध्यता पस्केका गीतकार तथा गायक सुरज पण्डितले अर्को भागमा प्रश्न गरेका छन्। ‘सिंहदरबार’ शीर्षकको यो गीतमा उनी नेता र व्यवस्थामाथि गीतबाटै प्रश्न गर्छन्-
राजधानीले बिर्सिएछ मेरा गाउँको बाटो
कि नेपाली होइन र म होइन एउटै माटो
गीतकार पण्डितले एक वर्षअघि ‘रेलको बाटो’ बोलको गीत बजारमा ल्याए। देशमा रेल, मोनोरेल र पानीजहाजको चर्चा भइरहेको परिस्थितिमा गाउँको हाल उनले देखाइदिएका थिए। सामान्य उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको चित्रण उनले गरेका थिए।
हुम्लामा सुटिङ गरिएको भिडियोसहितको उक्त गीतमा भनिएको थियो-
रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरमा,
हुम्ला कहिले मोटर आउला बस्याको छु हेर्न रहरैमा...
हुम्ला भर्खरै मोटरबाटोसँग जोडिएको छ। गाउँबाट अझै बस्तिसम्म बाटो पुग्न लाग्ने समयको हिसाब राज्यसँग छैन। त्यस्तो अवस्थामा एउटा परिवारको कथाबाट उनले पूरै सुदूर र कर्णालीको व्यथा सुनाएका/देखाएका छन्।
रेलको बाटो भाग २ मा एउटा सचेत नागरिकले गाउँको ‘परिवर्तन’का लागि राजनीति गर्न पनि सहज नभएको देखाइएको छ। गाउँमै सेवासहित राजनीति गर्नेले ‘टिकट’ पाउन मुस्किल छ। गाउँका ‘सिंहदरबार’मा पनि सिंहदरबारमा बस्नेहरुसँग पहुँच नभइ पुग्न सक्ने अवस्था छैन।
नेपालको शासन व्यवस्थामा संघीयता आएको छ। तीन तहका सरकार छन्। तर, हुम्लाजस्तै दुर्गम जिल्लाका पालिकामा ‘पूर्व स्थानीय’ नेताहरुको प्रवेश भइरहेको छ। उनीहरु धेरै समय काठमाडौं वा अन्य सहरमा बस्छन्। त्यहीँ घर बनाएका छन्। परिवार राखेका छन्। स्थानीय समस्याका उनीहरु भुक्तभोगी हुन पाउँदैनन्। नभोग्नेले नबुझ्नु सामान्य कुरा भइहाल्यो।
भिडियोमा हेलिकोप्टरमा नेता ‘ढुवानी’ भइरहेको दृश्यमा क्रान्तिका झन्डा बोक्नेहरु र गाउँ भनेर कुर्नेहरु हेरेका हेर्यै भएको विषय पनि देखाइएको छ। त्यही बीचमा एउटा संवाद छ– टाठाबाठाले मात्रै गर्न्या हो राजनीति।
मलाई सुख्खा रोटी छैन तिम्लाई अनेक व्यन्जन
गाउँ गाउँमा सिंहदरबार आयो अरे भन्छन्
गाउँमा बत्ति पुल छैन अभाव चामल नुनको
आश्वासनले मात्रै टार्यौ मैले लाको गुनको
संगीत समाजको ऐना हो। अशिक्षा, गरिबी, भोकमरी, अशिक्षा र अन्धविश्वासले ग्रस्त क्षेत्र हो। यी र यस्तै समस्याको समाधानका लागि संघीयतासहितको गणतन्त्रको परिकल्पना गरिएको छ। गणतन्त्र आएको १६ वर्ष पूरा भइसकेको छ। आजसम्म समस्या जहाँको त्यहीँ छन्। गीतमार्फत् पण्डितले त्यही अवस्थालाई दर्शाएका छन्। पण्डितको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियोमा उनीसँगै अस्मिता सुनार जुरेलीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।
गीतको म्युजिक भिडियो सुरु हुनुअघि लेखिएको छ–यस गीतमा देखाइएका घटना र पात्र काल्पनिक हुन्। कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ। दुःखको कुरा यही छ, जुन संयोग त्यहाँको जनजीवनका लागि नियमित बनिरहेको छ।
यस्तै, भिडियोको अन्त्यमा बिरामी श्रीमतीको उपचारका लागि हिँडिरहेको दृश्य देखाइएको छ।