हरेक वर्ष जस्तै यसवर्ष 'आज ८ अर्ब पुगेको जनसंख्या सवैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्वल भविष्यका लागि अवको प्राप्ति' भन्ने नाराकासाथ आज ११ जुलाईका दिन विश्वभरीका मुलुकलगायत नेपालमा पनि विश्व जनसंख्या दिवस मनाईंदै छ।
परिभाषाःसामान्यतया जनसंख्या भन्नाले कुनैपनि गाउँ÷जिल्ला, शहर तथा देश लगायत विश्वभरी वसोवास गर्ने, समान सामाजिक, सांस्कृतिक, आर्थिक, जनजाती समूहमा वसोवास गर्ने व्यक्तिहरु वा व्यक्तिको समूहलाइनै जनसंख्या भनिन्छ। समाजशास्त्रमा जनसंख्या भन्नाले मनुष्य जातीको संगठित स्वरुप र यसको तथ्याङ्कीय अध्ययन हो।
ऐतिहासिक पृष्ठभूमि: तेह्रौ शताब्दी(सन् १३१५–१७००) देखि निरन्तर वृद्धि हुँदै गएको विश्वको जनसंख्या पन्ध्रौ–सत्रौं शताब्दीसम्म करीव ३ करोड ७० लाख थियो भने अठारौं शताब्दीमा जम्मा १ अर्ब भयो। त्यसपछि उन्नाइसौं शताब्दीको बीचमा २.०६ प्रतिशतका दरले वृद्धि भएको विश्वको जनसंख्या बीसौं शताब्दी अर्थात् सन् २०१० देखि २०१५को विचमा १.१८ प्रतिशत का दरले मात्रवृद्धि भएको थियो भने २०१८ को मध्यतिर आईपुग्दा नपुग्दै विश्वको जनसंख्यामा वृद्धि भई ७ अर्ब नाघिसक्यो। संयुक्त राष्ट्र संघीय जनसंख्या कार्यक्रमको अनुमान अनुसार ११ जुलाई, २०२२ मा ७ अर्ब ९५ करोडभन्दा बढी पुगेको छ भने आगामी ४ महिना (नोभेम्बर, २०२२) मा ८ अर्ब पुग्ने अनुमान गरिएको छ। यसरी बढ्दो जनसंख्या आगामी २०५० मा ९.५ अर्ब पुग्ने अनुमान गरिएको छ। विश्वमा सबभन्दा बढी जनसंख्या भएका मुलुकमध्ये चीन पहिलो हो, जसको जनसंख्या १ अर्ब ४५ करोड पाइएको छ, दोश्रो भारतको १ अर्ब ४० करोड, तेश्रो संयुक्त राज्य अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ। विश्वको जनसंख्या करिब ३० प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्र संघीय जनसंख्या तथ्याङ्कले जनाएको छ भने एशियामा झण्डै ४२ प्रतिशतलेवृद्धि भएको छ। २०७८ को जनगणना बमोजिम करिब ०.९३ प्रतिशतका दरले वृद्धि भएको नेपालको जनसंख्या झण्डै २ करोड ९२ लाख छ, भने २ करोड ९४ लाख पुग्ने अनुमान गरिएको छ।
जनसंख्यावृद्धि: व्यक्तिहरुको संख्यामा वृद्धि हुनुलाई अर्थात् कुनै पनि स्थान वा मुलुकको जन्मदर र वाहिरवाट बसोवास गर्न आएका व्यक्तिहरुको जोडमा मृत्युदर र अन्यत्र बसोवास गर्न जाने व्यक्ति वा समूहको संख्यालाई घटाउँदा आउने संख्यानै जनसंख्या वृद्धि हो। स्पष्टरुपमा मनुष्यको जन्म तथा मृत्युमा आधारित जनसंख्याको आकारमा आउने सकारात्मक वा नकारात्मक परिवर्तन नै जनसंख्या वृद्धि हो। यदि विश्वका मुलुकहरुमा मृत्यु धेरै भएमा विश्वको जनसंख्या ढीलो वृद्धि हुन्छ अथवा जनसंख्या घट्दै पनि जान्छ, जसलाई सापेक्षित र निरपेक्षित वृद्धिमा मापन गरिन्छ। उदाहरणको रुपमा सन् १९५० मा विश्वको जनसंख्या जम्मा ४ अर्ब थियो भने २०००मा जनसंख्यामा वृद्धि भई ६ अर्ब पुग्यो। अनि करिब २२वर्षमै झण्डै२ अर्ब बढेर विश्वको जनसंख्या ८ अर्ब पुगेको अनुमान छ।
जनसंख्यावृद्धिका कारण: कुनैपनि मुलुकको जनसंख्या वृद्धिका प्रमुख कारणमध्ये जन्मदर नै हो। साथै बसाइ–सराई, अशिक्षा, धर्म–संस्कृति, पछौटेपन, गरिबी, कामको खोजीमा बाहिरिने र मृत्युदरले जनसंख्या वृद्धिमा असर गर्दछ।
जनसंख्या नियन्त्रण:
विश्वमा निरपेक्षितरुपमा बढ्दै गईरहेको जनसंख्या नियन्त्रण गर्न विश्वभरी अपनाइने उपायका लागि नै विश्व जनसंख्या दिवस मनाउने गरिन्छ। जनसंख्या नियन्त्रण वा व्यवस्थापन गर्न हरेक मुलुकले आ– आफ्नो जन्मदर, गरिबी, बाहिरबाट बसाई–सराई गरी आउने समुदाय, परिवार नियोजन, गर्भान्तर, शिशु मृत्यु दर, बालबालिका मृत्यु दर, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, खाद्य–सुरक्षा, एक वा दुई मात्र सन्तान नीति, साक्षरतामा वृद्धि आदि पक्षमा अत्यन्त ध्यान पुर्याउनु पर्दछ।
विश्व जनसंख्या दिवसको थालनी
सन् ११ जुलाई, १९८७ मा निरापेक्षि तरुपमा बढ्दै ५ अर्ब पुगेको विश्व जनसंख्या नियन्त्रण तथा जनसंख्या वृद्धिका चुनौतीलाई सामना तथा व्यवस्थापन गर्न सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको शासकिय परिषदको स्थापना भएको हो। अनि ९० भन्दा बढी देशमा प्रथम विश्व जनसंख्या दिवस मनाइयो। त्यसपछि संयुक्त राष्ट्र संघीय जनसंख्या संघका कार्यालयहरुका साथै अन्य संघ-संगठनहरुले सरकार तथा नागरिक समाजसमेतको समन्वयमा हरेक वष ११ जुलाईका दिन विश्व जनसंख्या दिवस मनाउन सुरु गरियो।
त्यसै क्रममा आज विश्वभरी मनाइने जनसंख्या दिवसको मुख्य उद्देश्य विश्वव्यापी जनसंख्या वृद्धिबाट उत्पन्न चुनौती तथा अवसरका लागि जस्तै परिवार नियोजनको महत्व, लैंगिक समानता, गरिबी, मातृ स्वास्थ्य तथा मानव अधिकारबारे व्यापक जनचेतना जगाउनेहो।
यस वर्षको विश्व जनसंख्या दिवसको नारा 'आज ८ अर्ब पुगेको जनसंख्या सवैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्वल भविष्यका लागि अवको प्राप्ति'भन्ने रहेको छ। यो नाराले जनसंख्या वृद्धिबाट विचलित नहुन र यसबाट उत्पन्न चुनौतीको सामना गर्ने अवसर पनि प्राप्त भएको सन्देश विश्व जनसंख्या दिवसले दिएको छ।
जनसंख्या दिवसमा सन्देशः
विश्व जनसंख्या दिवसले पहिलेभन्दा जनता शिक्षित भई स्वस्थ जीवन यापन गर्न नागरिक समाजद्घारा लगानी गरी मानव अधिकारलाई संरक्षण गर्दै चुनौतीलाई सामना गर्ने अवसरलाई शान्ति र समृद्धि प्राप्त गर्न लगानी गर्न आव्हान गर्दछ। अत्यन्त ध्यान दिइनुपर्ने पक्षमध्ये आगामी दिनमा ८ अर्ब पुग्ने जनसंख्या गणना गर्न वाध्य हुनुलाई मात्र गल्ती गरेको महशुस नगरी जनसंख्या गणना र अनुमानबाट विचलित हुनुलाई गल्ती गरेको मान्नुपर्ने हुन्छ।
यदि जनसंख्यामा मानव जातिको संख्या र जनसंख्या वृद्धि दरमा मात्र ध्यान दिने हो भनेत्यसबाट उत्पन्न हुनसक्ने अवसर तथा मानव अधिकारको हननसमेत हुन्छ। उदाहरणका लागि महिलालाई सन्तान जन्माउन वा नजन्माउन दबाव दिइयो भने यसबाट उनको सन्तानोत्पादनमा रोजाई तथा अधिकारसम्बन्धी असमानता उत्पन्न हुन्छन्। कुनै पनि देशको जनसंख्या वृद्धि भएमा ती देश विश्वमै बढ्दो निरपेक्षित जेष्ठ नागरिकको सामना अर्थात् विश्वभरका प्रति महिला २.१ प्रजनन दर भएका मुलुकमा पर्दछन् र अन्य युवा तथा बढ्दो उमेरका जनसंख्या भएका मुलुकको भोगाइमा पर्दछन्। त्यसपछि अधिकतम जनसंख्या आफ्नै रोजाई वा द्धन्द्ध जलवायु परिवर्तनबाट उत्पन्न विषम कारणले मुलुक बाहिर लाग्न वाध्य हुन्छन्। त्यस्तो अवस्थालाई मनन गरी सम्भावित दुष्परिणामलाई न्युनीकरण गर्न चुनौतीको सामना गर्दै सकारात्मक अवसरको प्राप्तिको आशा गर्नुपर्ने हुन्छ।
जनसंख्यावृद्धिको समाधानः
जनता समस्या होइन, समाधान हुन्। त्यसकारण जनसांख्यिक परिवर्तनको न्युनिकरणका उपायबारे बहस पैरबी गर्नुपर्ने हुन्छ । हरेक देशका जनताले जनसंख्या वृद्धिलाई महशुस गर्दै समस्या समाधान गर्न सक्छन्। जनता स्वयम् सुसूचित भई शिशु जन्ममा महिलाले बाध्यता नभई रोजाइको अधिकार पाएमा उनिहरुले आफ्नो अधिकार र जिम्मेवारी वहन गर्छन् भने सन्तानोत्पादनमा जोखिम न्युनीकरण गर्न सक्षम हुन्छन्। जसको प्रतिफल चाहेजति सन्तानबाट दिगो सामाजिक विकाससमेत गर्न सक्छन्। जनसांख्यिक समस्या समाधान गर्न केवल जनताको संख्या मात्र नभई समाधान गर्ने पद्धतिमा मुलुककै प्रतिवद्धता आवश्यक हुन्छ। यसले मानव तथा समाजसमेतलाई भेदभावबाट मुक्त गर्छ। जनताको संख्या धेरै भएमा जातजाती, वर्ग, धर्म, यौन दुव्र्यवहार, भेदभाव, दुरुत्साहन, लैंगिक दुव्र्यवहार तथा अपराध बढ्न जान्छ। जनसंख्या बिस्फोटन भएमा लैंगिक असमानता, मानवअधिकारको हनन, विभेदजस्ता दुव्र्यवहारमा वृद्धि मात्र नभई मुलुककै विकासमा अवरोध हुन्छ।
त्यसकारण आज विश्वव्यापी रुमपमा सेमिनार, छलफल, वादविवाद, सार्वजनिक सम्बोधन, कार्यशाला गोष्ठी, गीतसंगीत, नाराजस्ता शैक्षिक कार्यक्रम गरी मनउने गरिन्छ। समावेशीकरण, उत्पादनशील समाजका लागि जनशक्ति र भौतिक सम्पत्तिमा लगानी बढाएमा जनसंख्यावृद्धिका समस्या समाधान गर्न सकिने भएकाले शिक्षा, स्वास्थ्यसम्बन्धी अधिकार प्रदानगर्दै सम्भावनाका अवसर प्राप्तिको खोजी गर्न अति जरुरी छ।
नेपालमा जनसंख्या नियन्त्रणः
राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा परिवार नियोजन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित मातृत्वसहित एकीकृत सेवाको कार्यान्वयन गर्ने, सवै नागरिकलाई सुरक्षित मातृत्व लगायत आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा निशुल्क पुर्याउने रणनीति लिएको छ। ‘मुलुकका पुरुष वा महिलाको परिवार नियोजनको आवश्यकता पूरा गरी उनीहरुको प्रजनन् स्वास्थ्यको अवस्था र गुणस्तरीय जीवन यापनमा सुधार ल्याउन योगदान पुर्याउने लक्ष रहेको परिवार नियोजनको वर्तमान अवस्था साह्रै दयनीय छ। प्रजनन् उमेरका सवै किशोर–किशोरीलाई परिवार नियोजन, सुरक्षित मातृत्व तथा सुरक्षित गर्भपतनवारे स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत् सन्देश प्रदान गर्न सकिएको छैन।
प्रजनन् उमेर समूहका दम्पतिलाई पनि परिवार नियोजन, गर्भान्तर, सुरक्षित मातृत्व वारे जानकारी दिन सकिएको छैन र आवश्यक साधन समेत पुर्याउन सकिएको छैन। नेपालमा आधुनिक साधनको प्रयोग दर विगत वर्षको ४० प्रतिशतबाट खस्केर ३७ प्रतिशतमात्र छ। प्रजनन् उमेर (१५ देखि ४९ वर्ष)का महिलाको परिवार नियोजनका साधनको अपरिपूर्त माग केवल २४ प्रतिशतरहेको छ। वार्डस्तरीय परिवार नियोजन सेवा तथा साधन प्रदान गर्न महिला स्वास्थ्य स्वयम् सेविकालाई परिवार नियोजनका अस्थायी साधन (पिल्स, कण्डम) वितरण गर्न जिम्मा लगाइएता पनि आवश्यक सवै दम्पतिले साधन पाउन सकेका छैनन्। मुलुकका सवै प्राथमिक स्वास्थ्य सेवा गाउँघर क्लिनिक,स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालहरुमा परिवार नियोजनका अस्थायी÷स्थायी सवै साधन मौजुद र उपलब्ध रहेतापनि सही सदुपयोग हुन सकेको छैन। आधारभूत तथा पुनर्ताजगी तालिम, गोष्ठी मार्फत स्वास्थ्यकर्मी लगायत सवै समुदायस्तरका नेता तथा कार्यकर्तालाई परिवार नियोजन बारे उत्प्रेरणा गरी परिवार नियोजन सेवा प्रदान गर्न सकिएको छैन। अव बेलैमा होस पुर्याइएन भने जनसंख्या विष्फोट हुन बेर लाग्दैन।
त्यसकारण परिवार नियोजन,सुरक्षित मातृत्व, गर्भान्तरको अधिकार महिलालाई प्रदान गरी जनसंख्या वृद्धिमा नियन्त्रण गर्नु अत्यन्त जरुरी छ। प्राथमिक स्वास्थ्य सेवा गाउँघर क्लिनिक, वडाका महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट परिवार नियोजनका लागि उत्प्रेरणा गरी अस्थायी साधन वितरण र स्थायी बन्ध्याकरणका लागि स्वास्थ्य संस्थामा प्रेषण गर्न मन, वचन र कर्मले लाग्नु पर्दछ। यदि सवै स्वास्थ्यकर्मी तथा सेवकले आ–आफ्नो स्थानवाट प्रयाष गरेमा परिवार नियोजनका साधनको प्रयोग दर ३७ प्रतिशतबाट कम्तीमा ७३ प्रतिशत पुर्याउन सकिन्छ।
निम्न बुँदालाई अङ्गिकार गरी काम गरेमा मात्र जनसंख्या वृद्धि नियन्त्रण गर्न सकिन्छ:
१.प्रजनन् उमेरका सवै किशोर–किशोरीलाई विद्यालय/ क्याम्पसस्तरमा यौन शिक्षा/ प्रजनन् स्वास्थ्य शिक्षा/परिवार नियोजन, सुरक्षित मातृत्व तथा सुरक्षित गर्भपतन सम्बन्धी शिक्षा अध्यापन गरिनु पर्दछ। हरेक स्थानीय स्वास्थ्य संस्था मार्फत जनसंख्या वृद्धि र परिवार नियोजनको महत्वका वारेमा व्यापक स्वास्थ्य शिक्षा सन्देश प्रदान गर्ने व्यवस्था गरिनु पर्दछ।
२.विवाह गर्न कम्तीमा २० वर्ष पुग्नै पर्ने कानुनी प्रावधानलाई विशेष प्रवर्धन गर्ने र सो प्रावधान कडाइकासाथ लागु गराउनु पर्दछ।
३.परिवार नियोजन सेवा तथा साधनबारे समय–समयमा स्वास्थ्यकर्मीलगायत अन्य सम्बन्धित कार्यकर्तालाई पुनर्ताजगी तालिम प्रदान गरी परिवार नियोजनलाई समुदाय स्तरसम्म बढाउनु पर्दछ।
४.सुत्केरी हुन आउने हरेक गर्भवतीलाई सुत्केरी हुनासाथ परिवार नियोजनका साधन अपनाउन उत्प्रेरणा गर्नु पर्दछ। यस्तो उत्प्रेरणाले गर्भान्तरमा ठूलो सघाउ पुग्दछ र मातृ–शिशु स्वास्थ्य स्वस्थ्य रहनुका साथै जनसंख्या नियन्त्रणमा सघाउ पुग्दछ।
५.संघीय, प्रादेशिक र स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी सवैलाई जनसंख्या नियन्त्रण÷व्यवस्थापनमा परिवार नियोजन, सुरक्षित मात्रृत्व, गर्भान्तर, मानव अधिकारको महत्वका वारेमा चेतनामूलक स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रमलाई व्यापकरुपमा वढाउनुपर्दछ।
६.किशोर–किशोरी, नागरिक समुदाय, धार्मिक नेतृत्व, कार्यकर्ता राजनीतिकर्मी, स्थानीय सामुदायिक संगठन सवैलाई जनसंख्या नियन्त्रणमा सू–सुचित तथा अभिमूखीकरण र अन्तरक्रिया गरिनु पर्दछ।
७. जनसंख्या दिवस काठमाण्डौका होटलहरुको अलावा हरेक संघीय, प्रादेशिक र स्थानीय तहमा मनाउने व्यवस्था गरिनुपर्दछ। समुदायस्तरमा विश्व जनसंख्या दिवस–कार्यक्रम मनाउँदा मात्र प्रभावकारी हुन्छ।
(समाजशास्त्राचार्य अर्याल स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी निर्देशकबाट सेवा निवृत्त भएका हुन्। )