काठमाडौं- नेपालमा कोरोना भित्रियो रे !
सबै तिर हल्ला र त्रास फैलियो। मान्छे मान्छेसँग नै डराउन थाले। मास्क बिना घर बाहिर निस्कनु ठूलो जोखिम मोल्नु बराबर थियो। हुन त अहिले पनि छ।
रुघाखोकी र ज्वरो आउने बित्तिकै कोरोना पो हो की ! भन्ने ठूलो डर हुन्थ्यो। त्यही डरका साथ अस्पताल पुग्ने बिरामीको संख्या दैनिक बाक्लिदै गयो। कोरोना भाइरस आम मानिसका लागि मात्र होइन। स्वास्थ्यकर्मीहरुका लागि पनि नयाँ थियो।
अस्पतालहरुले सजिलै ज्वरोका बिरामी लिइरहेका थिएनन्। कति अस्पतालहरुले त मूल गेटबाटै ज्वरोका बिरामीलाई फर्काए पनि। तर केही यस्ता अस्पतालहरु पनि छन्, जसले जोखिम मोल्दै बिरामीहरुको उपचार गर्नुलाई नै आफ्नो मूल धर्म माने।
तिनै अस्पतालहरुमध्ये एक हो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
यो त्यही अस्पताल हो, जो कोरोना महामारीको पहिलो र दोस्रो लहरमा सबैको आशाको टेको बन्यो। बिरामीको अभिभावक बन्यो। सेवा नै मूल धर्म हो भन्ने आत्मसात गरी यो अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरु भोकप्यास र निद्रालाई बेर्पाहा गरी बिरामीको उपचारमा खटिरहे।
नेपालमा कोरोना भाइरसको संक्रमण भाइरस जुनै बेला पनि भित्रन सक्छ भन्ने कुरामा अस्पताल चनाखो थियो। चीनको वुहान सहरमा कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको खबरसँग प्राय सबै जानकार थिए। अस्पतालले पनि आफूलाई तयार बनाएको थियो।
कोरोनाको पहिलो लहरदेखि हालसम्म तीन हजार तीन सय ६५ जना कोरोना संक्रमित शुक्रराज अस्पतालमा भर्ना भए। जसमध्ये तीन हजार ९४ जना उपचारपछि निको भए भने दुई सय ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्यांक छ।
हाल कोभिडका लागि १० शय्या मात्र छुट्याइएको अस्पतालका सूचना अधिकार नवराज गौतमले बताए। सरकारी निर्णय र मापदण्ड अनुसार नै कोभिड संक्रमितको निशुल्क उपचार र परीक्षण भइरहेको उनले बताए।
पहिलो संक्रमितको उपचार
हल्का ज्वरो र खोकी लिएर एक ३२ वर्षीय पुरुष शुक्रराज अस्पताल पुगे। त्यो दिन थियो, २०७६ पुष २८ गते। उनी चीनबाट नेपाल फर्किएको चार दिन मात्र भएको थियो।
उनको परीक्षणका लागि पुगेका थिए, सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला। डा बास्तोला तिनै योद्धा हुन्, जो कोरोना विरुद्धको लडाईमा सुरुदेखि नै होमिएका छन्।
नेपालमा कोरोना पुष्टि भइनसकेकाले उनले सुरक्षाका उपायहरु खासै अपनाएका थिएनन्। उनले ती पुरुषको सबै ट्राभल हिस्ट्रि र अन्य सोधपुछ गरे। उनलाई कोरोना शंकाको हेरामा राखियो। उनलाई कोरोना संक्रमण होला भनेर कसैले सोचका थिएनन्।
पहिलो केस भर्ना हुँदा हामीले शंका गरेका थियौँ तर कोरोना होला भनेर नै सोचेका थिएनौ। किनभने त्यो बेला धेरै जानकारी र सूचनाहरु पनि थिएन।
त्यो बेला नेपालमा कोरोना परीक्षणको सुविधा थिएन। कोरोना परीक्षणका लागि बाहिर पठाउनु पथ्र्यो। स्वाब परीक्षणका लागि पठाए पनि स्वास्थ्यमा सुधार आएपछि उनलाई माघ ३ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो। माघ १० गते मात्र उनलाई पहिलो कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको थियो।
त्यसपछि नै शुक्रराज अस्पतालले कोरोना विरुद्धको लडाईमा होमिन तयारी सुरु गर्न थालेको डा बास्तोला बताउँछन्।
माघ १० गते कोरोना पुष्टि हुँदा अनभिज्ञ थियौँ। त्यसपछि नै हामीले तयारी थालेका थियौँ। उनले भने, ‘त्यो भन्दा अघिसम्म हामीले कोभिडका लागि भनेर आइसोलेसन वार्ड, आइसीयू केही पनि बनाएका थिएनौ।’
कसरी तयार पारियो शुक्रराज अस्पताललाई?
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शुक्रराज अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्यो। कोभिड विशेष अस्पतालको रुपमा परिणत गरिएपनि सेवा सञ्चालन गर्न चुनौतीपूर्ण थियो।
कोभिड विशेष अस्पतालमा परिणत भएपछि अस्पतालले आफ्नो संरचना र काम गर्ने शैलीमा परिवर्तन गरेको थियो। तर यो त्यति सहज थिएन। अस्पतालको पुरानो भौतिक संरचनाका कारण आइसीयू, आइसोलेसन वार्ड, कोभिड वार्ड सबै संरचना परिवर्तन गर्नु परेको डा बाँस्तोला बताउँछन्।
उनले भने, ‘कोभिड अस्पतालको रुपमा परिणत गरिएपछि संरचनाहरुमा पनि परिवर्तन गर्नुपर्यो। पुरानो भवन छ। अक्सिजन पाइपिङ्गको केही व्यवस्था थिएन। बिरामीको संख्या बढ्छ भनेर हामीलाई थाहा थियो। त्यसैले पुरै अस्पतालमा अक्सिजन पाइपिङ्गको व्यवस्था गर्यौँ।’
कोभिड सुरु हुनुअघि शुक्रराज अस्पतालमा तीन वटा आइसीयू सञ्चालित थियो। कोरोना महामारीमा यसलाई बढाउँदै २८ वटासम्म पुर्याइएको थियो।
अस्पतालमा भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना सम्बन्धी तालिम तथा विभिन्न जानकारी प्रदान गरिएको थियो। अस्पतालले संक्रमणको व्यवस्थापनका लागि वार्ड र इमर्जेन्सीमा एड्जस्ट फ्यान जडान गर्नुका साथै प्रेसर कोठा (रुम) बनाएको थियो। प्रेसर रुम भन्नाले वार्ड भित्रका कुनै संक्रमितले फेरेको श्वासप्रश्वास सहितको हावालाई यसले छानेर बाहिर पठाउने काम गर्छ। जसले अरुलाई क्रस संक्रमण हुनबाट जोगाउँछ।
शुक्रराज अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्ति सुरक्षात्मक सामग्री (पिपिई) को व्यवस्था गरेको थियो। त्यसैले पनि सबै स्वास्थ्यकर्मीले कामको प्रकृति अनुसार पिपिई अनिवार्य लगाउनु पर्दथ्यो। एक पटक लगाएको पिपिई अर्को पटक प्रयोग गरिदैन थियो।
कम स्वास्थ्यकर्मी एक्सपोज हुने उद्देश्यले आइसोलेसन वार्डमा सबै स्वास्थ्यकर्मीलाई पठाइदैन थियो। एक जना चिकित्सक मात्र आइसोलेसन वार्डमा जान्छन्। कोरोनाको पहिलो लहरमा एक स्वास्थ्यकर्मीले १२ घन्टा मात्र ड्युटी गर्ने समेत व्यवस्था मिलाइएको थियो।
संक्रमण फैलन नदिन वार्डहरु दिनको तीन पटक सफा गरिन्थ्यो। बिरामीले प्रयोग गरेका कपडा तथा अन्य सामग्री दैनिक धोएर र विषाणुरहित बनाएर मात्र प्रयोग गर्ने गरेको उनले बताए।
कोरोनाको जोखिम बढिरहँदा सबै स्वास्थ्यकर्मीहरुलाई जोगाउनु निकै चुनौतीपूर्ण काम भएको उनी बताउँछन्। घर जान नमिल्ने स्वास्थ्यकर्मीका लागि अस्पतालले क्वारेन्टाइनको समेत व्यवस्था गरिएको थियो।
कामको प्रकृति अनुसार स्वास्थ्यकर्मीलाई ५० देखि सय प्रतिशतसम्म जोखिम भत्ता समेत उपलब्ध गराइएको थियो। अस्पतालले सिसिटिभी क्यामेराको माध्यमबाट संक्रमितहरुको निगरानी र इन्टरकमको माध्यमबाट बिरामीहरुसँग अन्तक्र्रिया समेत गर्दथ्र्यो। बिरामीहरुको आत्मबल बढाउन अस्पतालका चिकित्सक तथा नर्सहरु कुराकानी गर्ने, अन्तरक्रिया गर्ने गरिएको डा बास्तोला बताउँछन्।
‘त्यो बेला माहोल नै त्यस्तै थियो। सबै आत्तिरहेका हुन्थे। त्यसैले म लगायत नर्सिङ स्टाफहरु बिरामीसँग रमाइलो मजाले कुराकानी गर्नु हुन्थ्यो।’ उनले भने।
मापदण्ड अनुसारको पिपिई लगाएका कारण संक्रमितहरुसँग नजिक हुन डर नलागेको उनको अनुभव छ।
सिकाई बन्यो पहिलो लहर
कोरोना भाइरस नयाँ भएकाले सुरुवाती दिनमा कसरी अघि बढ्ने भन्नेमा एक किसिमको अन्यौल थियो। त्यो बेला एउटा एन९५ मास्कको भरमा शंकास्पद बिरामी समेत उनले हेरे।
पिसिआर परीक्षणको सुविधा नहुँदासम्म कोरोनाको रिपोर्ट आउन तीन चार दिन लाग्थ्यो। बिरामीहरु समयमै रिपोर्ट नदिएको भन्दै गाली गर्थे त कतिले कोठामा थुनेर राखेको भन्दै कराउँथे पनि।
‘बाहिरबाट आएको र ज्वरो भएको भनेपछि सिधै टेकुमै ल्याइन्थ्यो।’ उनले भने, ‘पिसिआरको रिपोर्ट आउन ३/४ दिन लाग्थ्यो। बिरामीहरु गाली गर्थे। थर्काउँथे। थुनिर राखिस्। घर जाने दे भन्दै कराउँथे।’
कोरोनाको पहिलो लहरमा कोभिड वार्ड बनिसकेको थिएन। त्यसैले पिसिआर पोजेटिभ भएका कतिपय संक्रमितलाई समेत आइसीयू राख्ने गरिएको थियो। दोस्रो लहरमा भने आइसीयूका बिरामीलाई पनि शय्याको अभावमा इमरजेन्सीमा राख्नु परेको डा बास्तोला सम्झन्छन्।
उनले भने, ‘कोरोना पहिलो लहरमा धेरै जानकारी थिएन। जताततै डर र त्रास मात्र थियो। हामीले पनि सिक्दै अघि बढीरहेका थियौँ। तर जिम्मेवारी भने धेरै थियो। सुरुमा हामीसँग जे संरचना छ, जे सुविधा छ, त्यही अनुसार अघि बढ्यौँ।’
कोरोना उपचारका लागि सबै मापदण्ड पुृरा गर्नुपर्ने भएकाले एक सय शय्यालाई ५४ शय्यामा झारिएको थियो। पहिलो लहरमा कोरोना संक्रमित र मृत्युदर दुवै कम थियो। तर दोस्रो लहरमा भने थाम्न नसक्ने गरी यो संख्यामा वृद्धि भएको उनले बताए।
सही सूचनाको अभावमा कोरोना संक्रमितको उपचारमा कुन औषधि प्रयोग गर्ने भन्नेमा पनि अन्यौल देखिएको उनी सुनाउँछन्। चीन र पश्चिमी राष्ट्रहरुबाट आएको सूचनाको आधारमा उपचार प्रणाली अभ्यासमा ल्याइएको उनले बताए। कोरोनासँग डराएरभन्दा पनि सिक्दै अघि बढ्नुपर्ने उनको अनुभव छ।
सीमित क्षमता, खुम्चिएर सेवा दिनुपर्ने बाध्यता
पुराना भौतिक संरचना, संकुचित ठाउँ तर बिरामीको बाक्लो भीड। शुक्रराज अस्पताललाई चिनाउन यी तीन वाक्य नै काफी छन्।
देशको एकमात्र केन्द्रीय सरुवा रोग अस्पताल भए पनि यसको विकास र विस्तारमा भने सरकारले खासै चासो दिएको देखिँदैन। अस्पतालको भौतिक संरचना र सेवालाई हेर्दा लाग्छ, यो सरकारबाट अपहेलित अस्पताल हो। या भनौँ, सरकारको कम प्राथमिकतामा परेको अस्पताल पनि हो।
देशका कुनाकप्चाबाट बिरामीहरु उपचारका लागि शुक्रराज अस्पताल पुग्छन्। देशभरका सरुवा रोगका बिरामीको भरोसाको केन्द्र यो अस्पतालका भौतिक संरचना निकै पुराना र जीर्ण छन्। झण्डै ४० वर्ष पुराना संरचनाका कारण अस्पतालबाटै संक्रमण पो हुन्छ कि भनेर डर मान्नुपर्ने अवस्था छ।
सीमित क्षमता र पुराना भौतिक संरचनामा खुम्चिएर सेवा दिइरहनुपर्ने अस्पतालको बाध्यता छ। कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै खटिएको शुक्रराज अस्तपाल भौतिक रुपमा आफैँ थला परेको अस्पताल हो।
सरकारले विकास र विस्तारमा चासो नदिँदा शुक्रराज अस्पताल सीमित क्षमता र पुराना भौतिक संरचनामा खुम्चिएर सेवा दिइरहनुपर्ने बाध्यतामा छ। बर्सेनी नयाँ–नयाँ सरुवा रोगहरु देखिँदै छन्। बिरामीको बढ्दो चाप छ। तर रोगको जोखिम र बिरामीको चाप अनुसार भने यस अस्पतालको क्षमता सरकारले बढाउन सकेको छैन।
ठाउँ अभावका कारण अझै धेरै सेवा तथा वार्डहरु प्रोटोकल अनुसार चलाउन नसकेको अस्पतालकी निर्देशक डा मनिषा रावल बताउँछिन्।
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
शुक्रराज अस्पतालमा आइसीयू सञ्चालनमा आएको पनि चार वर्ष मात्र भयो। चार वर्षअघि चार शय्याको आइसीयू तयारी अवस्थामा भएपनि एनेस्थेसिया जनशक्ति अभावका कारण सञ्चालनमा थिएन। आइसीयू अभावमा विशेषगरी एचआइभी संक्रमितहरुलाई समस्या हुन्थ्यो। एचआइभी संक्रमितहरुमा कुनै न कुनै संक्रमण वा दीर्घ रोग भएका कारण उनीहरुलाई बढी आइसीयू चाहिने गरेको डा रावल बताउँछिन्। त्यो बेला आइसीयू आवश्यक पर्दा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो। तर अन्य अस्पतालले झट्टै उनीहरुलाई भर्ना गर्न मान्दैन थिए।
त्यसपछि शुक्रराज अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँगको समन्वयमा एनेस्थेसियाको क्रिटिकल पार्टमा सहयोग गर्ने सम्झौतासहित चार शय्याको आइसीयू सुरु गर्यो।
तीन सय शय्याको भवन बनाउने योजना
शुक्रराज अस्पताललाई तीन सय शय्याको अस्पताल बनाउने सरकारको योजना छ। तीन सय शय्याको अस्पताल बनाउने गुरुयोजना दुई वर्ष अघि मात्र सरकारी कार्यक्रममा पर्यो। त्यो पनि जग्गा छनोट विवादका कारण अल्झिन पुगेको थियो। टेकु अस्पतालमै तीन सय शय्याको भवन बनाउने सुनिश्चितता आर्थिक वर्ष २०७८/७९ मा भएको थियो।
आठ वर्ष अघि डा केदार सेन्चुरी अस्पतालको निर्देशक रहँदा शुक्रराज अस्पताललाई तनी सय शय्याको बनाउने योजना अघि सारेका थिए। यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न सकेको थिएन।
शुक्रराज अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ। तर १६ दशमलब ५ रोपनी मात्र प्रयोग गरिरहेको छ। बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ। हाल निर्माण हुन लागेको तीन सय शय्याको भवन बनाउनका लागि अस्पताललाई २६ रोपनी जमिन चाहिएको छ। त्यसका लागि विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र आर्थिक प्रशासन भवन रहेको जमिन प्रयोग गरिने अस्पतालकी निर्देशक डा रावलले बताइन्।
टेकुमै तीन सय शय्याको ६ तल्ले अस्पताल बनाउने निर्णयपछि नक्सा समेत पास भइसकेको छ।
उनले भनिन्, ‘सरकारको कार्यक्रममा परेको दुई वर्ष भयो। तर पहिलो वर्ष कहाँ बनाउने भन्ने निश्चित भएन। कहिले चन्द्रागिरी, कहिले भक्तपुरमा बनाउने भन्ने भयो। अस्पताल टाढा बनाउँदा बिरामीलाई झन्झट हुने भएकाले यही बनाउने निर्णय भयो।’
तीन सय शय्या अस्पतालको योजना अघि बढाउन तत्कालीन निर्देशक डा अनुप बास्तोलाको पनि महत्वपूर्ण भूमिका छ। उनले आफू निर्देशक भएका बेला अस्पताल बनाउने कामलाई अघि बढाउन धेरै प्रयास गरेको कर्मचारीहरु बताउँछन्।
तीन सय शय्याको भवन भएपछि विभिन्न सरुवा रोगहरुको उपचार गर्न सहज हुने डा रावलले बताइन्। निर्माण हुन लागिरहेको उक्त अस्पताल सरुवा रोगको प्रोटोकल अनुसार बन्नेछ। कोभिड जस्तो महामारीसँग जुध्न सकिने तरिकाले अस्पतालका पूर्वाधार निर्माण हुने उनले बताइन्।
तीनदेखि पाँच वर्षभित्र अस्पताल निर्माणको काम सक्ने अस्पतालको लक्ष्य छ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने लागत खर्चबारे तय भइनसकेपनि करिब एक अर्ब खर्च लाग्ने अनुमान छ।