काठमाडौं- धनगढीमा अनशनरत डा गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार पहिलो चरणको वार्ता निष्कर्षविहिन भएपछि आज फेरि वार्ता हुँदैछ।
सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच आइतबार पहिलो चरणको वार्ता निष्कर्षविहिन भएको हो।
पहिलो चरणको वार्ता निष्कर्षविहिन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए।
सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहेका छन्।
डा गोविन्द केसीको तर्फबाट वार्ता गर्न डा जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ। डा केसी र सरकार दुबैको मध्यस्थता गर्ने गरी नेपाल चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।