काठमाडौं- नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।
संघका महासचिव डा बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दे डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै जीवन रक्षा गर्न माग गरेका हुन्।
'उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्याई डा केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ।
८ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ। मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणको लागि अस्पतालले सल्लाह दिएको छ।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।