काठमाडौं- चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार निरन्तर लागिरहेको बताए। 'नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई कोभिडको विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा यहाँहरुलाई विदितै छ,' प्रधानमन्त्री देउवाले भने, 'कोभिड महामारी होस् वा अहिले देखिएको डेंगु नै किन नहोस् सरकार नागरिकको स्वास्थ्यमा गम्भीर छ। नागरिकलाई महामारीबाट जोगाउन सरकार लागिरहेको छ।'
प्रधानमन्त्री देउवाले सम्मेलनमा हुने छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्तावेजको रुपमा रहन सकोस् भन्ने अपेक्षा राखेको पनि जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दोस्रो एनएमए राष्ट्रिय स्वाथ्य सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकाेस् भन्ने धारणा राखेका छन्।
स्वास्थ्यमन्त्री खापुङले देश संघीयता अभ्यासका क्रमममा रहेको भन्दै सम्मेलनले यो अभ्यासलाई सार्थकता र नीति निर्माणमा सहयोग पुग्ने गरी निष्कर्ष निकाल्ने विश्वास लिएको बताए।
संघले 'महामारीपछिको चुनौती, उपलब्धी र अवसर' विषयमा केन्द्रीत रहेर सम्मेलनको आयोजना गरेको हो। बबरमहलस्थित कार्कीं ब्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।
सम्मेलनको पहिलो दिन संघको 'पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी', 'सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर' र 'चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा' विषयमा छलफल हुनेछ।
यस्तै बुधबार, 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण', 'नेपालमा स्वास्थ्य पर्यटनको संभावना' र 'चिकित्सा शिक्षामा असर र अवसर' विषयमा छलफल हुनेछ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्वपूर्ण हुने बताए। 'सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरु बनाउन सक्नेछ,' उनले भने, 'यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको छ।'
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भइनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए। उनले कोभिड महामारीसँगै आगामी दिनमा आउनसक्के जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए।
संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्याैउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए। 'आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्नेछौं,' उनले भने, 'उक्त छलफलमा आएका कुराहरुलाई हामीले संकलन गरेर नीतिगत सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिनेछौं।'
उनले समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामू प्रतिस्पर्धात्मक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको जानकारी दिए।
सम्मेलन आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरु सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए। 'यस्ता महत्वपूर्ण बिषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु,' उनले भने।
दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ। जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
दोस्रो सम्मेलनका लागि चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो। उक्त समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की छन्। डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुन्। डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला छन्।
सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह छन्।
संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण भर्चुअल भएको थियो। गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणा सार्वजनिक भएको थियो। पहिलो सम्मेलनमा संघीयतामा माहामारीको पुर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोनाविरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल भएको थियो।