काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे।
कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाइ छ।
काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए।
‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरी खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले। स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्यौं भने, प्राथमिकताका सन्दर्भमा हामीले हेर्यौं भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन’, थापाले भने, ‘हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरु छ कि छैन? कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो।’
महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको अजेण्डा बनाउनुपर्नेमा जोड दिए।