काठमाडौं - नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन काठमाडौंमा जारी छ। सम्मेलनको पहिलो दिन मंगलबार तीन विषयमा छलफल भइसकेको छ।
आज सम्मेलनमा चार विषयमा छलफल हुनेछ। 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण', 'नेपालमा स्वास्थ्य पर्यटनको संभावना' र 'चिकित्सा शिक्षामा असर र अवसर' विषयमा आज छलफल हुनेछ।
सम्मेलनको पहिलो दिन 'संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी', 'सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेहको असर' र 'चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा' विषयमा छलफल भएको थियो।
सम्मेलनको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार निरन्तर लागिरहेको बताए। 'नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई कोभिडको विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा यहाँहरुलाई विदितै छ,' प्रधानमन्त्री देउवाले भने, 'कोभिड महामारी होस् वा अहिले देखिएको डेंगु नै किन नहोस् सरकार नागरिकको स्वास्थ्यमा गम्भीर छ। नागरिकलाई महामारीबाट जोगाउन सरकार लागिरहेको छ।'
प्रधानमन्त्री देउवाले सम्मेलनमा हुने छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्तावेजको रुपमा रहन सकोस् भन्ने अपेक्षा राखेको पनि जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दोस्रो एनएमए राष्ट्रिय स्वाथ्य सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकाेस् भन्ने धारणा राखेका छन्।
स्वास्थ्यमन्त्री खापुङले देश संघीयता अभ्यासका क्रमममा रहेको भन्दै सम्मेलनले यो अभ्यासलाई सार्थकता र नीति निर्माणमा सहयोग पुग्ने गरी निष्कर्ष निकाल्ने विश्वास लिएको बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्वपूर्ण हुने बताए। 'सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरु बनाउन सक्नेछ,' उनले भने, 'यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको छ।'
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भइनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए। उनले कोभिड महामारीसँगै आगामी दिनमा आउनसक्के जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए।
संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्याैउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए। 'आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्नेछौं,' उनले भने, 'उक्त छलफलमा आएका कुराहरुलाई हामीले संकलन गरेर नीतिगत सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिनेछौं।'
उनले समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामू प्रतिस्पर्धात्मक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको जानकारी दिए।
सम्मेलन आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरु सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए। 'यस्ता महत्वपूर्ण बिषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु,' उनले भने।
दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ। जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
यस्तै बुधबार, 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण', 'नेपालमा स्वास्थ्य पर्यटनको संभावना' र 'चिकित्सा शिक्षामा असर र अवसर' विषयमा छलफल हुनेछ।
यो सम्मेलन चिकित्सकको लागि मात्र नभई सामान्य नागरिकदेखि नीति निर्मातासँग पनि सम्बन्धित भएको संघका अध्यक्ष डा लोचन कार्कीले बताए। सम्मेलनमा स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्याउने संघको अपेक्षा छ। सम्मेलनका लागि दुई सयभन्दा बढीले रजिष्ट्रेसन गराएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए। उनीहरु सहित सम्मेलनमा पाँच सयभन्दा बढीको उपस्थिति रहने संघको अनुमान छ।