काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आउने भएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज साँझ ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आउन लागेका हुन्।
अनसनका कारण स्वास्थ्य अवस्था बिग्रिएका कारण डा केसीसँग सेती अस्पतालका दुई जना चिकित्सकसहितको टोली पनि सँगै आउने भएका छन्। डा केसीसँगै रहेका डा अमृत जैशीका अनुसार डा केसीलाई अक्सिजन र स्लाइन चढाउनु पर्ने भएकाले विमानमा पनि अक्सिजनको व्यवस्था गर्न प्रशासन र विमान कम्पनीलाई भनिएको छ।
'उहाँ (डा केसी)को स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले काठमाडौं रेफर गर्नुपरेको हो,' उनले भने, 'सरकारले पठाएको स्काइ ट्रकमा उहाँले जान्न भन्नु भएको छ। उहाँ आफ्नै खर्चमा काठमाडौं जाने भनेकाले आज त्रिवि शिक्षण अस्पताल जान लागिएको हो।'
डा जैसीका अनुसार डा केसीको स्वास्थ्य अवस्थाका बारेमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई समेत जानकारी गराइएको छ।
सात बुँदे माग राखेर डा केसी १० दिनदेखि आमरण अनसनमा छन्। सरकारले वार्ता टोली गठन गरे पनि वार्ता सफल भने हुन सकेको छैन।
दशौं दिनको स्वास्थ्य अवस्था यस्तो छ