काठमाडौँ- अल्जाइमर रोगको विषयमा समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने सरोकारवालाहरुले जनाएका छन्। बुधबार विश्व अल्जाइमर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरुले समयमै पहिचान हुन सके अल्जाइमर निको हुने बताउदै जनचेतना फैलाउने विषयमा जोड दिएका हुन्।
कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले नेपालमा अल्जाइमर भन्ने नै धेरैलाई थाहा नभएको बताए। ‘अल्जाइमरको विषयमा जनचेतना फैलाउनु जरुरी छ। साथै, शिक्षाको मध्यमबाट पनि कोर्सहरुमा अल्जाइमरको बारेमा समेटिनु पर्छ,’ उनले भने। अल्जाइमर र यससँग सम्बन्धित डिमेन्सिया समाजकी अध्यक्ष विजया केसीले अल्जाइमरलाई नसर्ने रोगमा समावेश गर्नुपर्नेमा जोड दिएकी थिईन्। साथै, भएका जनशक्तिलाई प्रयोग गरेर समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने पनि उनले बताईन्।
सरकारले अल्जाइमरको बिरामीलाई उपचार खर्चबापत दिने भनेको एक लाख रुपैंयाँ पनि दिन सुरु गरिहाल्नुपर्ने उनीहरुको माग थियो।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक गोमा देवी निरौलाले अल्जाइमरको विषयमा सरकारकोतर्फबाट आफूहरुले सकेको गर्ने र गरिरहेको बताईन्। उनका अनुसार अहिले देशभरी ४९ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिदैं आएको छ भने २० वटा अस्पतालहरुमा यो सेवा विस्तार हुदैंछ।
होप हर्मिटेज नेपालकी अध्यक्ष प्रमिला बज्राचार्य थापाले अल्जाइमरको बिरामीको लागि केयर गिभर नै नपाईने बताउदै समुदायस्तरमा गएर जनचेतना मुकल कामहरू गर्नुपर्ने बताईन्। सरकारले उपचार खर्च बापत दिने पैसा लिने प्रक्रिया निकै लामो र झन्झटिलो हुने, बिरामीलाई पैसाको अभाव हुने जस्ता समस्याहरुको बारेमा पनि उनले चर्चा गरेकी थिईन्।
कार्यक्रममा डब्लुएचओको तर्फबाट उपस्थित डा केदार मरहठ्ठाले आगामी योजनामा अल्जाइमर र यस सँग सम्बन्धित रोगहरुको लागि बजेट विनियोजन गरेर तुरुन्तै कामहरू सुरु गर्नुपर्ने बताए।
अल्जाइमर डिजिज इन्टरनेसनलको आकलन अनुसार २०३० सम्म अल्जाइमर रोग लागेका नेपालीहरुको संख्या १ लाख ३४ हजार पुग्ने छ। जबकी २०१५ मा नेपालमा उक्त संख्या ७८ हजार थियो।
सोहिकारण समयमा नै यसको पहिचान गरी उपचार प्रक्रियामा लाग्न सरोकारवालाहरुले जोड दिएका छन्।
होप हर्मिटेज नेपाल र अल्जाइमर र यससँग सम्बन्धित डिमेन्सिया समाजको सहकार्यमा आयोजित कार्यक्रममा ‘उमेर र नाता’ शीर्षकको नाटक समेत देखाइएको थियो।