दाङ–जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।
खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकका आधारमा राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिए। यस्तै, जिल्लाको गढवा गाउँपालिका दोस्रो, तुलसीपुर उपमहानगरपालिका तेस्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ। उत्कृष्ट भएका पालिकालाई घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मालगायतले प्रमाण पत्र हस्तान्तरण गरिएको छ।
गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कवरको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो।
जिल्लामा संचालित प्रमुख जनस्वास्थ्यका कार्यक्रम समेटी विभिन्न १६ वटा सूचकलाई आधार बनाएर कामको आधारमा प्राप्त गरेको अंकलाई मान्यता दिँदै १० वटै पालिकाको क्रम निर्धारण गरिएको हो। जसअनुसार, पाँचौँमा राजपुर गाउँपालिका, छैठौँमा घोराही उपमहानगरपालिका, सातौँमा शान्तिनगर गाउँपालिका, आठौँमा लमही नगरपालिका, नवौँमा बबई गाउँपालिका र अन्तिममा दंगीशरण गाउँपालिका रहेको छ।
यस्तै, कोभिड विरुद्धको खोप कार्यक्रममा उतकृष्ट रुपमा व्यवस्थापन तथा समन्वय गरी कार्य सम्पादन गरेको भन्दै जिल्लाको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुन र तुलसीपुर उपमहानगरपालिकाका जन स्वास्थ्य निरीक्षक विमल केसीलाई उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा सम्मान गरिएको थियो।
कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए। वार्षिक समीक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतीलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन्।