काठामाडौं- स्याङजाको गल्याङ नगरपालिका र गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रबीच गल्याङ सामुदायिक अस्पताल हस्तान्तरण सम्झौता भएको र स्वास्थ्यकर्मी स्थायी गरिएको पत्र सामाजिक सञ्जालमा भाइरल भयो। भाद्र ५ गतेको उक्त पत्रमा सरकारी छापसमेत छ।
उक्त पत्रमा हेल्थ असिस्टेन्टलाई स्थायी नियुक्ति दिइएको उल्लेख छ। पत्रमा कार्यपालिकाको भाद्र ३ गतेको निर्णय अनुसार स्थायी नियुक्ती दिइएको भनिएको छ भने अस्पताल र नगरपालिकाबीच असोज २९ मा सम्झौता भएको उल्लेख छ। जबकी २९ असोज २०७९ आउन बाँकी नै छ। अलिे उक्त पत्र कसले र किन सार्वजनिक गरेको हो भन्ने खुलेको छैन।
लोकसेवा आयोगबाट विज्ञापन भएर मात्रै स्थायी नियुक्ति दिइने विद्यमान प्रक्रिया विपरित नगरपालिकाले नै स्थायी नियुक्ती दिएको भन्दै सामाजिक सञ्जालमा ब्यापक विरोध समेत भएको छ। नगरपालिकाले भने उक्त पत्र कीर्ते भएको भएको भन्दै सो कार्य गर्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।
गल्याङका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विज्ञप्ति जारी गर्दे उक्त कागज कीर्ते भएको जनाएका छन्।
'यस नगरपालिकाको गल्याङ नगर अस्पतालमा स्वास्थ्य सहायक पाँचौ तह हेल्थ असिस्टेन्ट पदमा कार्यरत श्री श्रवण कुमार महतोको विषयमा विभिन्न सामाजिक सञ्जालमा किर्ते गरी स्थायी नियुक्ति गरिएको भनि झुठा विवरण सम्प्रेषण भएको प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।,' उनले विज्ञप्तिमा भनेका छन्, 'निज श्रवण कुमार महतो हालसम्म सेवा करारमा रहेको छन्। विधुतीय अपराधको समेत ख्याल नगरी यस किसिमका झुठा विवरण सम्प्रेषण नगर्नुहुन सूचित गरिन्छ अन्यथा नगरपालिका कानुनी प्रकृया थाल्न समेत बाध्य हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ।'
हेर्नुहोस नियुक्ति दिएको पत्र र नगरपालिकाको विञप्ति