काठमाडों- अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता सुरु भएको छ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वार्ता सुरु भएको केसीका तर्फबाट वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए। यसअघि विभिन्न चरणमा वार्ता चलेपनि निष्कर्षमा भने पुग्न सकेको छैन।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सहभागी छन् भने नेपाल चिकित्सक संघका तर्फबाट डा अनिलबिक्रम कार्की सहभागी छन्।
वार्ता टोलीमा डा केसीको तर्फबाट डा जीवन क्षेत्री, डा लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल र डा विष्णु पोखरेल सहभागी छन्।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।