त्रिवेणी- मध्यबिन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा जितेन्द्र कँडेल नियुक्त भएका छन्। यसअघिका मेसु डा वीरबहादुर थापाको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त रहेकामा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले उनलाई मेसुमा नियुक्त गरेको हो। म्याग्दीस्थित बेनी अस्पतालबाट सरुवा भएर आएका डा कँडेल निमित्त मेसुका रुपमा कार्यरत थिए।
सुरु हुन सकेन डायलासिस सेवा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन। गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्यौल छ। सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।
जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणलगायत काम सकेर अनुगमनका लागि बिमा बोर्डलाई आग्रह गरिएको थियो तर अनुगमन र निःशुल्कमा सूचीकृत हुन नसक्दा सेवा प्रदान गर्न नसकिएको उनको भनाइ थियोे। रासस