काठमाडौं- स्वास्थ्य क्षेत्रको सुधारका मागहरु राखेर विगत ११ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ। धनगढीमा अनशनरत डा केसीलाई दिसामा रगत देखा परेको लगायतका समस्या उत्पन्न भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको एनेक्स १ भवनको बेड नं ५०१ मा भर्ना गरिएको छ।
हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्ट अनुसार शरीरमा इलेक्ट्रोलाईटस्को मात्रा घट्दै गैरहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका सूचना अधिकारी तथा उपचार व्यवस्था समितिका सदस्यसचिव राम विक्रम अधिकारीले जानकारी दिए।
इलेक्ट्रोलाईटस्को आपूर्तिका लागि डा केसीले इन्कार गरिरहेको पनि उनले बताए। केसीलाई भर्ना गरेको दिनदेखि आजसम्म दिसामा रगत भने देखा नपरेको अस्पतालले जनाएको छ।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।