काठमाडौं- आमरण अनशनरत डा गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि (शनिबार) प्रदर्शन गर्ने भएको छ। शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको शुक्रबार विज्ञप्ति मार्फत जनाइएको छ।
आन्दोलनले डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता पनि जनाएको छ। ‘बृहत् नागरिक आन्दोलनको प्रष्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वय नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।’ विज्ञप्तिम भनिएको छ।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ। डा केसीलाई दिसामा रगत देखा परेको लगायतका समस्या उत्पन्न भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको एनेक्स १ भवनको बेड नं ५०१ मा भर्ना गरिएको छ।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।