काठमाडौं- नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा दुई जना चिकित्सक र एक जना स्वास्थ्य व्यवसायी समेत राखेको पाइएको छ।
बन्दसूचीमा सरकारी स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका डाक्टर केदार नरसिंह केसी, नेपालगन्ज मेडिकल कलेजका सञ्चालक समेत रहेका डा सुरेशकुमार कनोडिया र मेडिकल व्यवसायी खुमा अर्याल छन्। अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन्।
डा केसी र डा कनोडियाले प्रत्यक्षतर्फ नै चुनाव उठ्ने योजना बनाएका थिए। प्रत्यक्ष तर्फ टिकट नपाएका उनीहरुलाई कांग्रेसले समानुपातिक तर्फ राखेको हो।
सूचीमा डा केसी ५२औं नम्बरमा छन्। अर्याल ५७ र डा कनोडिया ८८ औं नम्बरमा छन्। समानुपातिक तर्फको ११० सिटका लागि कांग्रेसले आयोगमा बुझाएको सूचीमा प्रधानमन्त्रीपत्नी आरजु राणादेखि बालकृष्ण खाँडपत्नी मञ्जु खाँणसम्म छन्।