काठमाडौं- नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा भदौ २५ गते देखि असोज ४ गतेसम्म आँखा शिविर सम्पन्न भएको छ। जिल्लाको गोकुलेश्वर, पस्ति र खलंगा गरी ३ स्थानमा संचालित शिविरहरुमा जम्मा ३४३५ जनाले आँखा उपचार सेवा लिएका छन्।
जसमध्ये ४४८ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएकोमा ४४१ जना मोतिबिन्दुका बिमारीहरुको शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गरिएको छ। उक्त शिविरहरुमा ७ जनामा आँखाको अन्य रोगको शल्यक्रिया गरिनुका साथै १३०४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको छ।
यस्तै १६८३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको छ। आँखा शिविर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मा वि गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि पस्ति र महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा दार्चुलामा संचालन गरिएका थिए ।
गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा स्मध अधिकारीको नेतृत्वमा संचालित उक्त शिविरहरुमा १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिए।