काठमाडौं- चिकित्सक संघ नेपाल विद्यार्थी इकाई धरानले सुनसरी रामधुनी वडा नं ९ मा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो।
अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ। एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालिा शिविरबाट वडाका २ सय २५ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन्। आँखाको दृष्टि जाँचपश्चात ७ जना मोतिया विन्दुका बिरामीहरुलाई आवश्यक उपचारका निमित्त रिफर गरिएको छ।
शिविरबाट विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराएको थियो। स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, आँखाको दृष्टि परीक्षण, मोतिया बिन्दु जाँच तथा उपचार, बाल स्वास्थ्य परिक्षण तथा परामर्श, दन्त रोग परीक्षण, छाला तथा यौन रोग परिक्षण तथा परामर्श सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन्। निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।

