काठमाडौं- नेपाली कांग्रेसका महामहन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा टोल–टोलमा निःशुल्क डेंगु परीक्षण गरिएको छ। कोरोना भाइरसकाे महामारीको समयमा कोरोना नियन्त्रण र रोकथाममा सक्रिय रहेका थापा अहिले डेंगु नियन्त्रणमा पनि सक्रिय भएका हुन्।
थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४ र शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले टोल–टोलमा पुगेर डेंगुको निःशुल्क परीक्षण सुरु गरेको हो। शनिबार वडा नं ७ को चाबहिल गणेशस्थान र आइतबार कुमारीगाल सामुदायिक भवनमा डेंगुको निःशुल्क परीक्षण गरिएको हो। दुई दिनमा १६७ जनाको निःशुल्क डेंगु परीक्षण गरिएको गगन थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि शंकर कुइँकेलले जानकारी दिए।
थापाको सक्रियतामा नागरिकलाई डेंगुको निःशुल्क परीक्षण गरिनुका साथै डेंगुबाट जोगिने विषयमा जनचेतना जगाउने र माइकिङ समेत गरिएको छ।
सोमबार कपन क्षेत्रमा डेंगुको निःशुल्क परीक्षण गर्ने उनीहरुको तयारी छ। कतिपयले घर–घरमै परीक्षण तथा परामर्शका लागि आउन आग्रह गरेका छन्। उनीहरुको आग्रह अनुसार घर–घरमा पुगेर डेंगु परीक्षण गर्ने तयारी समेत भएको गगन थापाको सांसद कार्यालयले जनाएको छ।
कोरोना महामारीमा घरदैलो अभियान चलाएका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले डेंगुको प्रकोपमा पुनः घरदैलो अभियान सुरु गरेका हुन्।
