काठमाडौं- नेपाल चिकित्सक संघको कार्यालयमा सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउने कार्य सकिएको छ। संघको पहलमा डाक्टर र उनीहरुका परिवारका लागि लक्षित गर्दै संघको कार्यालयमा एक महिनासम्म राष्ट्रिय परिचय पत्र बनाउने काम भएको थियो।
एक महिनाको अवधिमा दुई हजार चार सय ७२ जनाले परिचय पत्र बनाएको संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार संघको कार्यालयमा अन्तिम सातामा भएको भीडका कारण फर्किनु परेका चिकित्सक र व्यस्तताका कारण आउन नभ्याएकाहरुका लागि लक्षित गर्दै तिहारपछि थप १५ दिन समय थप्ने विषयमा पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सकारात्मक रहेको छ।
विभागले समय थप गरेमा संघका सदस्यहरुका लागि पहिलो प्राथमिकता दिइने उनले जानकारी दिए।
संघको कार्यालयमा भदौ ७ देखि असोज ८ गतेसम्म राष्ट्रिय परिचय पत्र बनाउने समय तोकिएको थियो।