रेबिज के हो?
रेबिज रोग मानव इतिहासका पुराना रोगहरुमध्ये एक मानिन्छ। यो लिसा भाइरस प्रजातिको भाइरसका कारण हुने मस्तिस्कसँग सम्बन्धित एक प्राणघातक रोग हो। तातो रगत हुने जनावरहरुमा मात्र हुने यो रोगको प्राकृतिक स्रोत भने स्याल फ्याउरो जस्ता दारा भएका जंगली जनावरहरु हुन र यीनीहरुको संसर्गमा आएका घरपालुवा कुकुरहरुमार्फत रेबिज रोग मानव समुदायमा प्रवेश गर्ने गरेको पाइन्छ। नेपालको सन्दर्भमा कुरा गर्दा रेबिज रोग लागेका बिरामीहरुमध्ये ९५ प्रतिशत भन्दा बढी घटनाहरु कुकुर जन्य भएको पाइन्छ।
नेपालमा हाल वर्षेनि १०० भन्दा बढी मानिसहरु रेबिज रोगका कारण मर्ने गरेको तथ्यांक भए पनि कयौ रेबिज जन्य मृत्युहरुको रेकर्ड नहुने गरेको पाइन्छ। निशुल्क र प्रभावकारी खोपको उपलब्धतता हुदां हुदै पनि वर्षेनि यति धरै मानिसहरु मर्नुका धेरै कारणहरुमध्ये आम मानिसहरुसम्म रेबिज रोगको प्रकृति र यसको नियन्त्रणका लागि सरकारी कार्यक्रमहरुका बारेमा भएको न्युन ज्ञानलाइ मुख्य कारणका रुपमा लिन सकिन्छ। एद्यपी पछिल्ला दिनहरुमा पत्र पत्रिकामार्फत जनसमुदायलाइ रेबिज सम्बन्धी तथ्यहरुबाट सुनिश्चित गर्ने प्रयासहरु नभएका होइनन्।
अखबारमा रेबिज:
• खोप नलगाउँदा रेबिजबाट मृत्यु
• इमिनोगुल्विन र एआ भी सबैको पहुंचमा पुर्याइनुपर्ने।
• परीक्षालाई प्राथमिकता दिंदा रेबिजबाट मृत्यु।
• रेबिजको आक्रामक उपस्थिती ! खोप छ तर कहां चुक्दैछौ हामी?
• कुकुरले टोकेको समयमा टिटानस विरुद्दको खोप मात्र लगाइएकोले रेबिजबाट मृत्यु।
• सानो बच्चा कुकुर (Puppy) ले टोकेको भनि बेवास्ता गर्नाले रेबिजबाट मृत्यु।
• कुकुरले टोकेको समयमा झारफुकको भरपर्दा रेबिजबाट मृत्यु।
आदि जस्ता रेबिजसँग सम्बन्धित घटना तथा खबरहरु अखवारका पानाहरुमा हामी सबैले पढ्ने गरिएका समचारहरु भित्र पर्दछन्।
रेबिजको वर्तमान अवस्था:
हाल विश्वमा वर्षेनि करिब ६० हजार मानिसहरु रेबिजका कारण मर्ने गरेको पाइन्छ। त्यसमा करिब आधा भन्दा पनि बढी (३६ हजार) मृत्यु एसियामा हुने गरेको पाइन्छ। नेपालको सन्दर्भमा कुरा गर्दा अझै पनि वर्षेनि १०० भन्दा बढी मानिसहरुले रेबिजकै कारण ज्यान गुमाइरहेका छन्।
समुदायमा रेबिज: रेबिजको मुख्य श्रोत जंगली जनावर भएको र यिनीहरुको मुख्य सम्पर्क विशेष गरी जंगल नजिकका बस्तीहरुमा बस्ने मानिस तथा जनावरहरु नै हुने गर्दछन्। त्यसमा पनि कुकुर जो जंगली जनावरहरु संग प्रतिकार गर्ने क्रममा जंगली जनावरबाट आफुमा रेबिज सार्ने गर्दछ र यसरी संक्रमित कुकुरहरुबाट समुदायसम्म रेबिज प्रवेश गरी फैलने गर्दछ। त्यसैले रेबिज नियन्त्रणका लागि समुदायका मानिसहरुमा रहेको यस रोग प्रतिको धारणले महत्वपुर्ण भुमिका खेल्ने गर्दछ। जसका लागि हामीले उनीहरुको ज्ञान धारण पत्तालगाइ सोहि अनुसारको कार्ययोजनामा अघि बढ्दा रेबिज लगाएत कयौ जुनोटिक रोगहरुबाट समाजलाइ सुरक्षित राख्न सकिन्छ। मानिसलाइ लाग्ने अधिकांश रोगहरु जनावर जन्य (जुनोटिक)रोगमा पर्दछन्। नेपाल जस्ता कृषि प्रधान देश जहाँका अधिकाशं मानिसहरु प्रत्येक्ष वा परोक्षरुपमा पशुपंक्षिहरुको सम्पर्कमा रहने गर्दछन्। उनीहरु जनावरसँग यति नजिक रहन्छन् कि मानै उनिहरुको सबैभन्दा नजिकको साथी नै आफूले पालेका जनावरहरु हुन्। र यस्तो अवस्थामा आफूले पालेका जनावरबाट आफैलाई रोग सर्दछ भन्ने कुरामा उनीहरु त्यति धेरै विश्वास पनि गर्दैनन्। भने अर्कोतर्फ कस्ता कस्ता जनावरहरुबाट कुन कुन रोगहरु मानिसलाइ सर्दछन् र त्यसका असरहरु सम्बन्धमा पनि अधिकांश मानिसहरुलाइ थाहा नहुन सक्छ वा बेवास्ता गरेका हुन सक्छन्। जसले गर्दा रोगहरुलाई प्रारम्भिक अवस्थामा पहिचान र नियन्त्रण गर्न नसकि ब्यक्ति समुदाय तथा ठुलो भुगोलसम्म पनि फैलिएर जनधनको क्षति गर्न सक्ने कुराको हामी आफै भुक्तभोगि छौ। त्यसैले जुनसुकै रोगबाट बच्नका लागि पनि सबैभन्दा पहिलो सर्त भनेको आम मानिस सम्म स्वास्थ्य शिक्षाको पहुंच पुर्याइ स्वास्थ्य शिक्षामार्फत जनताको दैनिक ब्यवहारमा स्वास्थ्यकर परिवर्तन गर्नु नै हो। तर यथार्थमा आम मानिसहरुमा यस्ता रोगहरुको बारेमा ज्ञान निकै कम भएको पाइन्छ।
हालै मात्र मध्य नेपालका हिमाल पहाड र तराइलाइ समेट्नेगरी गरिएको एक अध्ययन जसमा विशेषगरी पशुपालक किसानहरु जो जनावरहरुसँग निकै नजिक हुन्छन्; उनीहरुमा नेपालमा हाल देखिएका मुख्य मुख्य जुनोटिक रोगहरु; वर्डफ्ल्यु,रेबिज,स्वाइन फ्ल्यु, वोभाइन टिबी,फित्ते जुकाका कारण हुने छारेरोग र ब्रुसोलोसिस रोगहरु सम्बन्धी रहेको ज्ञान, धारणा तथा यस्ता रोगहरुबाट बच्नका लागि उनीहरुले गर्ने गरेका प्रयासहरु पत्ता लगाउने प्रयास गरिएको थियो। कुल ३८० जना किसानहरुमा गरिएको अध्ययनमा सबैभन्दा धेरै ९५ प्रतिशतले वर्डफ्ल्यु क्रमश ९१ प्रतिशतले रेबिज,५४ प्रतिशतले स्वाइन फ्ल्युको बारेमा आफुहरुले सुनेको भन्ने जवाफ दिएका थिए भने अन्य रोगहरु वोभाइन टिबी, फित्ते जुकाका कारण हुने छारेरोग र ब्रुसोलोसिस रोगहरुको बारेको ज्ञान भने निकै कम किसानहरुमा मात्र पाइयो। तथापी यी रोगहरु पनि नेपालमा पाइने प्रमुख जुनोटिक रोगहरु भित्र नै पर्दछन्।
तर धेरै सुन्ने गरिएका रोगहरु वर्डफ्ल्यु, रेबिज र स्वाइन फ्ल्युका सम्वन्धमा पनि उक्त रोगहरुका लक्षण चिन्ह सर्ने तरिका तथा बच्ने उपायहरु सम्बन्धी ज्ञान भने तुलनात्मक रुपमा कम पाइयो। जनावरहरुवाट मानिसलाई सर्ने रोगहरुमध्ये रेबिज एक पुरानो र निकै घातक रोग भएकाले यस सम्बन्धी प्राप्त तथ्याङ्कहरुको समिक्षा गर्दा कुल ३८० जनामा गरिएको अध्ययनमा;
९०.७ प्रतिशतले रेबिज रोगको बारेमा सुनेका, जसमध्ये३३.३३ प्रतिशतलाई मात्र रेबिज रोगको कारण थाहा भएको,४० प्रतिशतले उत्तरदाताहरुले रेबिज रोगको प्रमुख लक्षण र्याल चुहाउने भएको बताए। तर रेबिजबाट बच्न रेबिजविरुद्दको खोप सरकारी अस्पतालहरुमा निशुल्क पाइन्छ भन्ने कुराको ज्ञान केवल ४४.३ प्रतिशत उत्तरदाताहरुमा मात्र रहेको पाइयो। भने अझ डरलाग्दो तथ्य त के पाइयो भने ७०.३ प्रतिशत उत्तरदातालाई रेबिज सत प्रतिशत नै मृत्यु गराउने अर्थात रेबिजको लक्षण चिन्ह देखा परेपछि कुनै हालतमा पनि बचाउन नसकिने रोग हो भन्ने कुराको जानकारी नै नभएको पाइयो।
यस प्रकार रेबिज रोगको सम्बन्धमा कुरा गर्दा निकै पुरानो र स्थानिय रुपमा रहि रहेको रोग भएकाले प्राय मानिसहरुले यस रोगको बारेमा सुन्ने गरेको भएपनि रेबिज रोग सम्बन्धी वास्तविकता (रेबिज सत प्रतिशत मृत्यु गराउने रोग हो) र रोगबाट बचाउनका लागि उपलब्ध सरकारी सेवा सुबिधा (सरकारी अस्पतालहरुमा रेबिज खोप निशुल्क पाइन्छ) जस्ता विषयमा न्युन ज्ञान भएकाले जोखिमको समयमा रुपयां पैसा साथमा छैन भनेर खोप लगाउन नजाने तथा कुकुरले टोकेको घटनालाई सामान्य रुपमा लिने जस्ता व्यवहारले खोपबाट बचाउन सकिने रोग भएपनि नेपालमा प्रतिवर्ष १०० भन्दा बढि मानिसहरु रेबिजकै कारण मृत्युवरण गर्ने गरेको पाइन्छ।
रेबिज नियन्त्रणका उपायहरु
रेबिज एक प्राणघातक रोग भए पनि यसकाविरुद्द उपलब्ध भएको प्रभावकारी उपचारका कारण यसलाई सत प्रतिशत बचाउन सकिने रोगको रुपमा पनि लिने गरिन्छ। तर बिडम्वना कयौ मानिसहरु आजपनि रेबिजकै कारण अल्प आयुमै मरिरहेका छन्। त्यसैले रेबिज नियन्त्रणका लागि निम्न उपाउहरुलाइ प्रभावकारी रुपमा अवलम्वन गर्नु वान्छनिय हुने देखिन्छ।
१.रेबिज नियन्त्रणका लागि कुकुरहरुको व्यवस्थापन (खोप तथा बन्ध्याकरण) सँगै मानिसका लागि रेबिज विरुद्दको खोप (ARV and Immunoglobulin)को सहज उपलब्धतता त हुनुपर्छ नै त्यससँगै आम मानिसलाइ रेबिज रोग तथा यसबाट बच्ने तरीकाहरु र निशुल्क रुपमा खोपको उपलब्धतता र खोप पाइने स्वास्थ्य संस्थाहरुका विषयमा आम संचारका माध्यमहरु मार्फत निरन्तर रुपमा सुचित गरिरहनु पर्दछ।
२.विद्यालयका पाढ्यक्रममा जुनोटिक रेबिज सम्बन्धी अनिवार्य व्यवस्था, स्थानीय स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकाहरु मार्फत समुदायमा रेबिज सम्बन्धी सूचनाहरु निरन्तर उपलब्ध भैरहेको कुराको सुनिश्चितता गराउनु पर्दछ।
३. त्यस्तै समुदायमा संचालनमा रहेका औषधि पसल तथा क्लिनिक पनि जनावरको टोकाइ लिएर आएका बिरामीहरुको राम्रोसँग सोधपुछ (history taking) तथा परामर्श (counselling) गरी जोखिमको मुल्याङ्कन गरी उपयुक्त उपचार तथा समयमै सम्बन्धित ठाउँमा प्रेषण गरिदिनु पर्दछ। भने समाजमा रहेका परम्परागत उपचार गर्ने व्यक्तिहरु (धामि झाँक्रि, झारफुक आदि) लाई पनि सम्बन्धित स्वास्थ्य संस्थाहरु मार्फत उपयुक्त प्रशिक्षण हुन जरुरी छ।
यस प्रकारका प्रयासहरुले समुदायका मानिसहरुमा रेबिज सम्बन्धी उपयुक्त सूचनाहरु प्रसारण हुन गइ रेबिज प्रतिको धारणामा उपयुक्त डर (मलाइ रेबिज सर्छ कि वा रेबिज लागेमा निकै घातक वा मृत्यु नै हुने) सृजना हुन गइ समयमा नै रेबिज प्रति सचेत भै रोगबाट बच्ने उपायहरु अवलम्वन गर्नेछन्। साथै यसै रणनीति अनुसार अघि बढेमा मात्र सन् २०३० सम्म रेबिजबाट हुने मृत्युलाई शून्यमा पुर्याउने नेपालको महत्वकांक्षी लक्ष्यलाई पुरा गर्न सहयोग पुग्नेछ।
रेबिजबाट बच्न लगाइने खोप
सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरुको छलफलपछि विश्व स्वास्थ्य संगठनले सन् २०१० मा प्रकाशित रेबिजविरुद्धको खोप तालिकामा केही परिवर्तन गरि नयाँ तालिका सिफारिस गरेको छ। जसमा खोप लगाउने समय अवधि समेत छोट्याइएर सजिलो बनाएको पाइन्छ।
रेबिजविरुद्दको खोप तालिका
रेबि विरुद्को सुई(खोप) हाल दुई प्रकारले लगाउने गरिन्छ।
१) छाला मुनि लगाउने।
२) मासु मुनि लगाउने।
छाला मुनि लगाउने- नयाँ तालिकाअनुसार छाला मुनि लगाउँदा अब तीन पटक मात्र(०, ३ र ७ दिनमा)लगाए हुन्छ। यो तरिका अनुसार हरेक पटक आउँदा दुवै पाखुराको छाला मुनि ०.१ एमएल/०.१ एमएल (दुवैमा गरि ०.२ एमएल) दिने गरिन्छ।
मासु मुनि लगाउने- यो तरिकाबाट लगाउँदा अब चार पटक लगाए पुग्छ (०, ३, ७र १४ दिनमा)। यो एक पटकमा ०.५ एम एल पाखुराको मासु मुनि दिने गरिन्छ। यि खोपहरु सरकारी अस्पतालहरु, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा निशुल्क पाइन्छ भने प्राइभेट अस्पतालहरु बाट पनि लगाउन सकिन्छ।
इमुनोग्लोवुलिन-जसलाइ कुकुर तथा अन्य जनावरहरुले टोकेर ठुला र गहिरा घाउ/ चोट पटक लागेको हुन्छ उनिहरुले अनिवार्य रुपमा इमुनोग्लोवुलिन खोप पनि लगाउनु पर्ने हुन्छ।