काठमाडौं-नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ।
अस्पतालस्तरको पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको अस्पतालले जनाएको छ।
प्रयोगशाला प्रमुख डा सुशीलराम श्रेष्ठकाअनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो।
‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन। अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ,’ डा श्रेष्ठले भने–‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ। एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ।’
डा श्रेष्ठकाअनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेशल टेस्टले समेत आइएसओ सर्टिफिकेट पाएका छन्। ‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी जस्ता सेवामा हामी आइएसओ सर्टिफाईड हो।’ डा. श्रेष्ठले भने–‘धेरै सेक्टरमा आइएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो।’
उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेका उनले सुनाए। डा श्रेष्ठले भने,‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान्। यहीकारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ। सेवाग्राहीको फिडब्याक पनि राम्रो छ।’