काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले अहिले देशमा डेंगुको प्रकोपले महामारीको रुप लिएको समेत बताए।
शुक्रबार बिहान काठमाडौंमा भएको एक कार्यक्रम बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल आपतकालीन बैठक बोलाएर डेंगु नियन्त्रणको पहल गर्नुपर्ने माग गरे।
‘मैले प्रधानमन्त्रीलाई भेटेर भनेको पनि छु। यहाँबाट फेरि पनि भन्छु, यत्रो डेंगी लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ लाग्नु पर्ने हो, काम गर्नु पर्ने हो, पटक्कै काम गरेको छैन। यसमा ठूलो असन्तुष्टि छ’, पूर्वस्वास्थ्यमन्त्री समे रहेका थापाले भने, ‘चाडबाडको बेलामा प्रकोप फैलिएको छ। प्रधानमन्त्रीले तुरुन्त आपतकालीन बैठक बोलाएर, स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई बोलाएर चाडबाडको बेलामा संक्रमणलाई कसरी घटाउने?, यसलाई रोकथाम कसरी गर्ने? अस्पतालमा भएको दबाबलाई कसरी घटाउने? यसका बारेमा छुट्टै अभियान तत्काल सञ्चालन गर्नुपर्छ।’
कोभिड संक्रमण भइरहेको अवस्थामा तत्कालीन सरकारलाई जसरी काम गर्नु पर्ने थियो गरेन भनेको स्मरण गर्दै उनले आज आफ्नै सरकारले काम गरेन भन्नुपर्ने अवस्था आएको बताए।
‘सरकार कसैको हुँदैन। सरकार जनताको हो। सरकार देशको हो। मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ। तर, प्रधानमन्त्री त पूरा देशको हो नि’, थापाले भने, ‘यस्तो बेला जनताको स्वास्थ्यमा ध्यान नदिए कहिले दिने?’
उनले डेंगु संक्रमित भएकाहरुलाई आफ्नो निर्वाचन क्षेत्रबाट नि:शुल्क परीक्षणको कार्यक्रम गरिरहेको बताए। थापाले काठमाडौं– ४ (थापाको निर्वाचन क्षेत्र) का जुनसुकै व्यक्तिलाई संक्रमण भएपछि आवश्यक परेको बेलामा अस्पताल लिनेदेखि नि:शुल्क परीक्षण गर्ने विश्वास दिलाए।