लहान- बुधबार दसैँको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्योे। सुरक्षित प्रसूतिका लागि सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ सेन्टरमा पुर्याइन्।
गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो। सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन्। निकै बेरपछि ढोका त खुल्यो । तर ढोका खोल्ने व्यक्ति स्वास्थ्कर्मी नभएर सरसफाइकर्मी हथिए। सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उनले सञ्जिरालाई आश्वासन दिए।
स्वास्थ्यकर्मीलाई पालैपालो गरेर फोन गरे पनि बर्थिङ सेन्टरमा आउन कोही पनि तयार भएनन्। सञ्जिराको अवस्था नाजुक हुँदै गएको जानकारी दिएपछि स्वास्थ्यकर्मीले उनलाई अन्यत्र लैजान फोनबाट सुझाव दिएको सञ्जिराकी सासू अनोधैनले बताइन्। उनले एम्बुलेन्समा बुहारीलाई प्रादेशिक अस्पताल लहान लगीन्। लहान अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा सञ्जिराले सुरक्षित रुपमा बच्चा जन्माइन्।
“स्वास्थ्यकर्मीले ढिलो गरी ल्याएकामा मलाई हप्काए, केही बेर ढिलो गरेको भए अनिष्ट हुनेथियो”, सासू अनोधैनले भनिनु । मातृ शिशु मृत्युदर घटाउन राज्यले हरेक प्रयत्न गरिरहेको छ। प्रसूति गराउन स्वास्थ्य संस्थामा नै जानु पर्दछ भनेर चेतना फैलाउने गरिएको छ। तर गोलबजार बर्थिङ सेन्टरमा पुगेका सुत्केरीले त्यसको अनुभूति गर्न पाएका छ्रैनन्।
गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही भएको बताए। दोषी कर्मचारीउपर दसैं बिदापछि कारबाही गरिने उनको भनाइ छ। रासस