काठमाडौं– २०७४ सालमा एमालेका घनश्याम भुसालसँग पराजित भएका राप्रपाका दीपक बोहोराले एमालेकै समर्थनमा रुपन्देही–३ मा उम्मेदवारी दर्ता गराएका छन्।
पूर्व स्वास्थ्यमन्त्री बोहरले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
यसपटक एमालेले भुसालको टिकट खोसेर राप्रपाका बोहोरालाई तालमेल गर्दै टिकट दिएको थियो। भुसालले शनिबार एमाले परित्याग गरिसकेका छन्।
उक्त क्षेत्रमा प्रतिनिधि सभामा राप्रपा, प्रदेश सभामा जनता समाजवादी पार्टी र एमालेले पाउनेगरी तालमेल गरेका छन्।
प्रदेश सभा (क) मा जसपा नेता महेन्द्र यादव र (ख) मा नेकपा एमालेका नेता तुलसी चौधरीले मनोनयन दर्ता गरेका छन्।
उनलाई एमाले र जनता समाजवादी पार्टीले सहयोग गर्ने छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसले उम्मेदवारी पाएको छ।