काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालको आकस्मिक विभागको सेवा नयाँ भवनबाट सुरु गरिएको छ।
पुरानो र जीर्ण भवनबाट सञ्चालन भइरहेको सेवा सोमबारदेखि नयाँ भवनबाट सुरु गरिएको हो। हाल आकस्मिक विभाग २० शय्यामा सञ्चालित रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए। केही दिनमा २० बाट ५० शय्या पुर्याइने उनले जानकारी दिए।
‘हाम्रो क्षमता ५० शय्याको हो। अहिले नयाँ भवनमा सरेकाले २० शय्या मात्र सञ्चालन गरेका हौँ। बाँकी शय्याहरु आउने क्रममा छन्। करिब एक सातामा यो सेवा ५० शय्यामा सञ्चालन हुन्छ।’ उनले भने।
यसअघि नयाँ भवनको अभावमा ३० वर्ष पुरानो भवनबाट सेवा दिनु पर्ने अस्पतालको बाध्यता थियो। नयाँ भवनको माथि दुई तल थप्ने अस्पतालको तयारी छ। दुई तला थप गरेपछि ट्रमा सेन्टर समेत सञ्चालन गरिने डा पौडेलले जानकारी दिए।