काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत आवासिय चिकित्सक (रेजिडेन्ट डाक्टर)ले निर्वाह भत्ता पाउने भएका छन्। गत साउनदेखि निर्वाह भत्ता नपाएका करिब तीन सय डाक्टरहरूलाई महाराजगञ्ज मेडिकल क्याम्पसले आन्तरिक स्रोतबाट भत्ता दिने भएको हो। न्यासनल रेजिडेन्ट डाक्टर एशोसिएशनको अध्यक्ष डा सुमन आचार्यका अनुसार क्याम्पसले सबै डाक्टरहरुको दूई महिनाको भत्ता दिने भएको छ।
‘स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अर्थ मन्त्रालय बिचको कुरा नमिलेर क्याम्पसले पाउनु पर्ने बजेट नआएर हामीले साउनदेखिको भत्ता पाएका थिएनौं। अन्य क्याम्पसहरुले भने अन्तरिक स्रोतबाटै भत्ता दिईरहेको थियो। केही समय अघि हाम्रो क्याम्पसले आन्तरिक स्रोतमा पैसा छैन भनेको थियो। सोहीकारण हामी काम छाड्ने निर्णयमा पुगेका थियौं,’उनले भने।
डाक्टरहरुले आउने हप्ताबाट काम छोड्ने भनेपछि दबाबमा क्याम्पसले भत्ता दिन लागेको हो। दुई महिनाको भत्ता आउने भएपछि अब काम नछाड्ने तर निरन्तर दबाब भने दिइरहने डा आचार्य बताउँछन्। ‘भत्ता नआए बिहीबारदेखि काम छाड्ने भनेको थियौं। अहिले तत्काल भत्ता पाउने भयौं, तर अझै दुईतीन महिनासम्म पनि आयोगले तलब पठाएन भने आगामी दिनमा फेरी भत्ता नपाउन सक्छौं। सोहि कारणले हामी निरन्तर दबाब भने दिईरहन्छौं,’ उनले भने।
बिहीबार नेपाल चिकित्सक संघले पनि आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको थियो।