काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) ले स्नातक तहमा ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषय अध्यापन गराउन लागेको छ।
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
‘विश्वमा अहिले अनेकन समस्याहरु व्याप्त छन्। तिनीहरुमा प्रमुख रुपमा अशान्ति, युद्ध, भ्रस्टाचार, अपराध, बेरोजगारी तथा जीवनशैलीजन्य रोगजस्ता समस्याहरु छन्। यो सँगै मानव जीवन आनन्दको यात्राबाट विमुख हुँदै गैरहेको छ,’ रिसालले भने, ‘यस्ता धेरै समस्याहरुको निवारण गर्न तथा जीवनलाई खुसी र आनन्दित बनाउन योगको अहम् भूमिका रहँदै आएको कुराबारे वैज्ञानिक अनुसन्धान भइरहेका छन्। त्यही भएर हामीले पनि यो विषय समेटेका हौं।’
पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता समेत विकास हुँदै गएको छ। यही कुरालाई ध्यान दिएर काठमाडौं विश्वविद्यालय (केयु) ले उच्च शिक्षामा योग विज्ञानको सान्दर्भिकता विषयमा कक्षा सञ्चालन गर्न भर्ना अभियान सुर गरेको संयोजक रिसाल बताउँछन्।
क–कसले अध्ययन गर्न पाउँछन्?
यस विषयको अध्ययन गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ पास गरेको हुनु पर्दछ। १२ कक्षा उत्तीर्ण गरेका स्वदेशी तथा विदेशी नागरिकले यो विषय अध्ययन गर्न पाउने छन्। पहिलो पटक यस विषयमा अध्यापन गराउन २४ जनाको भर्ना लिने केयुले बताएको छ। ती २४ मध्येबाट उत्कृष्ट पाँच जनालाई छात्रवृत्तिको व्यवस्था हुनेछ।
उक्त विषय अध्ययनका लागि विश्वविद्यालयमा प्रवेश परीक्षा दिनुपर्ने हुन्छ। यसका साथै केको लागि उक्त विषय अध्ययन गर्ने भनेर निबन्ध समेत लेख्नुपर्ने हुन्छ। र, अन्तवार्ता दिनु पर्छ। यी तीनवटा परीक्षामा उत्तीर्ण भएपछि भर्ना लिइन्छ। उक्त विषयको अध्ययनका लागि कुनै उमेर हद भने नतोकिएको रिसालले बताए।
चारवर्षे कोर्षमा आठओटा सेमेस्टर हुन्छन्। ६–६ महिनाको एक सेमेस्टर हुने समेत रिसालले बताए।
किन योग शिक्षा?
काठमाडौं विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँग संयोजन गर्दै सकारात्मक सोच, नैतिक निष्ठा र विश्वमा आत्मीय सौहार्द्रपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको छ। यी उद्देश्य पूर्ति गर्नका लागि केयुले नेपालमै पहिलो पटक स्नातक तहको ४ बर्षे ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’को पाठ्यक्रम सुरु गरेको हो । ‘स्कूल अफ आर्ट्स हात्तीवन र स्कूल अफ मेडिकल साइन्सेज धुलिखेलले संयुक्त रुपमा उक्त विषय अध्यापन गराउने व्यवस्था गरिएको छ।
उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकहरुबाट अध्यापन हुने यो विषयको सम्पूर्ण व्यवस्थापन हात्तीवनको स्कूल अफ आर्टसले गर्ने छ। यसबाट योगको उच्च शिक्षालाई वैज्ञानिक, खोजमूलक र आधुनिक प्रविधियुक्त बनाउन तथा मानव जीवनका हरेक पक्षको विस्तृत अध्ययन गर्न सहयोग पुग्ने विश्वविद्यालयको दाबी छ। हरेक व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक कल्याणसंगै विश्वमा शान्ति र सौहार्द्रता कायम गर्न योग शिक्षाको अध्यापन सुरु गरिएको संयोजक रिसालले बताए।
योग शिक्षाले केवल रोजगारमुखी जनशक्ति निर्माण गर्ने मात्र नभई नेपाललाई योग भूमिको रुपमा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन, वैदेशिक मुद्रा आर्जन गर्न, मौलिक संस्कृतिको विकास र संरक्षण गरी स्वस्थ र निष्ठावान समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्य लिइएको छ।
अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकुल तथा योग संस्थाहरूमा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्नेछन्। उत्पादित जनशक्तिले सहजै रुपमा नेपालका स्कूल तथा कलेजमा अध्यापन गर्ने, आफैं योग केन्द्र स्थापना गर्ने, योग रिट्रिट खोल्ने, योग अनुसन्धानकर्ता बन्ने, अन्तर्राष्ट्रिय योग प्रशिक्षक बन्ने, आरोग्य प्रशिक्षक बन्ने, योग टुर गाइड बन्ने अवसरहरु प्राप्त गर्नेछन्। पछि जुनसुकै विदेशी विश्वविद्यालयहरुमा गएर मास्टर्स डिग्री गर्न सक्ने छन्।
भर्ना शुल्क कति?
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न भर्ना शुल्क एक लाख २० हजार रुपैयाँ लाग्छ। त्यसपछि मासिक शुल्क १० हजार बुझाउन पर्छ। पहिला नै पुरै रकम बुझाउँदा चारवर्षे कोर्ष पूरा गर्न लगभग चार लाख शुल्क लाग्ने संयोजक रिसाल बताउँछन्।
क–कसले पाउँछन् छात्रवृत्ति?
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न २४ जनाको भर्ना लिने हो। ती मध्येबाट पाँच जनालाई छात्रवृत्तिको व्यवस्था हुन्छ। भर्ना लिनेबेला प्रवेशिका परीक्षा हुन्छ। केको लागि आएको छु भनेर निबन्ध लेख्नुपर्ने हुन्छ। र, अन्तर्वार्ता दिनु पर्छ। यी तीनवटा परीक्षा उत्तीर्ण गरेपछि भर्ना लिइन्छ। छात्रवृत्ति पाउनलाई सबै विषयमा ४५ प्रतिशत ल्याउनु पर्छ।
‘गुरुकुलमा पढेका वा संस्कृत पढेकाहरुले भने योगबारे पनि पढेका हुन्छन्। उनीहरुलाई उक्त विषयमा पहिले नै ज्ञान हुन्छ’, उनले भने ‘यसरी पढ्ने मन भएको तर अर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले २० प्रतिशत छात्रवृत्ति दिन्छौँ।’
छात्रवृत्ति पाएवापत विद्यार्थीले दैनिक एक, दुई घण्टा सेवा गर्नु पर्ने विश्वविद्यालयले नियम बनाएको छ। जसका लागि उनीहरुले कलेज बाहेकका संस्थामा समेत आवद्ध भएर दैनिक योगको विषयमा अध्ययन, अनुसन्धान गर्नु पर्ने हुन्छ।