काठमाडौं- डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्। त्यसो नभएमा सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुने जानकारी पनि गराएका छन्।
‘हाम्रो पछिल्लो सत्याग्रहका क्रममा चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने एउटा प्रमुख माग रहेको थियो। वार्ताका क्रममा शिक्षामन्त्री तथा मुख्य सचिवले आयोगमा कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेका थिए’, डा केसीद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, दुवै जनाले त्यो प्रतिबद्धता पूरा गरेका छैनन्।’
उनले उल्टै आयोगको कार्य सम्पादन नै प्रभावित हुने गरी हस्तक्षेप चलिरहेको बताएका छन्। ‘आयोगको समन्वयबिना त्यहाँ पठाएका भनिएका कर्मचारीले गुण्डागर्दी गरेर आयोगलाई अस्तव्यस्त बनाएका छन्। यसबाट आयोगलाई असफल बनाउन चाहने निहित स्वार्थ समूह र माफियाहरुको स्वार्थमा काम भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।
केसीले आफूसित भएको सम्झौता कार्यान्वयनका लागि शिक्षा मन्त्रीसित सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा नआएको विज्ञप्तिमा उल्लेख गरेका छन्।