धनगढी- स्वास्थ्य बीमा बोर्डको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी आइतबारदेखि धनगढीमा शुरु भएको छ। स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेश बहादुर सिंह रहेका थिए।
उदघाटन कार्यक्रममा उनले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रकै राम्रो योजना रहेको बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन समयानुकुल योजना थप गर्दै लैजानु पर्नेमा बताए।
कैलाली जिल्लाबाट परिक्षण प्रोजेक्टको रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लामा पुगेको तर अहिले बीमाकर्ताले नविकरण नगरी विचमै छोडने क्रम बढेको निमित्त सचिव सिंहले बताए। उनले अहिले नयाँ बनाउनु भन्दा पुरानालाई गुणस्तरीय सेवा दिनतिर ध्यान जानु पर्ने बताए।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत हेमराज खडकाले स्वास्थ्य बीमाको प्याकेज बढाउनु पर्नेमा जोड दिए। अहिले पाँच जना सदस्य रहेको बीमा कर्ताले एक लाखको उपचार गर्न पाउने अवस्था रहेको तर बीमाकर्ताको रकम ३५ सय बाट ५ हजार बढाएर पाँच लाख सम्मको उपचार सेवा पाउने बनाउने पर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य बीमा सुदूरपश्चिम निर्देशनालयका निर्देशक रमेश मलासी, सेती प्रादेशिक अस्तालतका स्वास्थ्य बीमा फोकल पर्सन दिपक मल्ललगायत मन्तव्य राखेका थिए।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आर्थिक बर्ष २०७९/०८० सम्म स्वास्थ्य बीमा गर्नेको संख्या ५० प्रतिशत पुर्याउने बताएका छन। उनले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन सबै स्वास्थ्य संस्था, सबै नागरिकले सहयोग आवश्यक रहेको बताए। कार्यक्रम संचालन बीमा बोर्डका सिनियर अहेव भगवान रेग्मीले गरेका थिए।
कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ अवधिसम्मको समष्टिगत प्रगति विवरणको प्रस्तुती, जिल्ला र प्रदेशको प्रस्तुती रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लाबाट स्वास्थ्य बीमा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ।