काठमाडौं – गैरसरकारी संस्था, एक्सन वर्क्स नेपालकी अध्यक्ष सम्झना पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’बाट सम्मानित भएकी छिन्।
एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य शिक्षा र उनीहरूको जीविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने सामाजिक संस्थाहरूको सञ्जालको छनोटमा विमेन आइकोन नामक संस्थाले पौडेललाई पुरस्कारसहित सम्मान गरेको हो।
भारतको तमिलनाडूमा हालै आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरूले फरक–फरक विधाका पुरस्कार प्राप्त गरे।
एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने महिलामध्येबाट पौडेल उक्त पुरस्कारबाट सम्मानित भएकी हुन्।
पत्रकारिता पेशामा लामो समयदेखि काम गर्दै आएकी पौडेलले विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएकी छिन्। उनी हाल एक्सन वर्क्सकी अध्यक्ष हुन्। विशेषगरी, एक्सन वर्क्सले कर्णाली प्रदेशका जिल्लाहरूमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आइरहेको छ।
यसले ग्रामीण क्षेत्रमा प्रजनन् स्वास्थ्य, गर्भपतनको कानूनी मान्यता, परिवार नियोजनका साधनहरूको प्रयोगबारे महिलाहरुलाई जानकारी दिने र सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने गर्दछ। लामो समयदेखि सामाजिक क्षेत्रसँगै पत्रकारितामा पनि निरन्तर काम गर्दै आएकी पौडेल आउटलाइन मिडियासँग आबद्ध छिन्।