गुल्मी– गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालकहरूको आँखा जाँच शिविर गरिएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर गरिएको हो।
‘आँखा उपचारमा निरन्तरता दिऔं ध्यान, आफ्नो र यात्रुहरूको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरूको लागि निःशुल्क शिविर आयोजना गरिएको हो।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको आँखा जाँच गरेर शिविरको सुरुवात गरिएको थियो। शिविरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्त्वपूर्ण भएकाले समय समयमा जाँच गरिरहनु पर्ने बताए।
सवारी चालकहरूको आँखा जाँचले आँखाकै कमजोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने उनको विश्वास छ। उक्त कार्यक्रम ४ दिनसम्म चल्ने छ। शिविरमा जिल्लाभर रहेका यात्रुवाहक सवारी चालकहरूको निःशुल्क आँखा जाँच गरिनेछ।
निःशुल्क रुपमा आँखा जाँच गराउन पाउँदा सवारी चालकहरू उत्साहित भएका छन्। आफनो आँखाको अवस्थाबारे जानकारी लिन पाउँदा सवारी चलाउनका लागि पनि ढुक्क हुने सवारी चालकहरूको भनाइ छ।
सवारी दुर्घटनाका कारणमध्ये चालकको आँखाको दृष्टि कमजोरका कारण पनि रहेकाले शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए।
शिविरमा आँखाको अवस्था र आँखा प्रेसरको पनि जाँच गरिने आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ।