काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। डा कार्कीविरुद्ध बुधबार उजुरी परेको हो।
उजुरी परेपछि कार्यालयले डा कार्कीलाई स्पष्टीकरण सोधेको छ। कार्यालयले सात दिनभित्र जवाफ दिने गरी स्पष्टीकरण सोधेको हो। कार्यालयका एक कर्मचारीका अनुसार डा कार्कीविरुद्ध नेपाल मेडिकल काउन्सिलको सदस्यबाट राजीनामा नदिई निर्वाचनमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको हो।
'उहाँ नेपाल मेडिकल काउन्सिलको सदस्य हुनुहुँदो रहेछ। काउन्सिलको सदस्यबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्ने उजुरी परेपछि पत्र काटेका हौं,' ती कर्मचारीले भने, 'उहाँलाई सात दिनको समय दिएर पत्र पठाएका छौं। जवाफ आएपछि उहाँका विषयमा के गर्ने भन्ने प्रक्रिया अगाडि बढ्छ।'
डा कार्कीले पनि आफूले निर्वाचन अधिकृतको कार्यालयबाट पत्र पाएको जानकारी दिइन्। उनले मेडिकल काउन्सिलमा निर्वाचित सदस्य रहेको र उक्त पद लाभको नभएको जानकारी दिइन्।
'उजुरी परेपछि पत्र पाएको छु। उजुरी दिने समय नै धेरै पहिला सकिए पनि अहिले आएर उजुरी परेको रहेछ,' उनले भनिन्, 'काउन्सिलमा निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद नभएका कारण म कानुनी परामर्श लिएर पत्रको जवाफ दिनेछु।'
उनले घण्टी चुनाव चिन्ह लिएर आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन्। घण्टी चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीको हो।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले काउन्सिलको हरेक मिटिङमा आएको समयमा डा कार्कीले भत्ता लिएको जानकारी दिए। 'उहाँले प्रतिनिधि सभामा उम्मेदवारी दिएको विषयमा काउन्सिलमा जानकारी गराउनु भएको छैन। हामीहरुले सञ्चार माध्यमबाट मात्र थाहा पाएका हौं,' उनले भने, 'काउन्सिलको सदस्यका रुपमा उहाँले मिटिङमा आएको समयमा भत्ता बुझ्नुभएको छ।'