काठमाडौं- सर्वोच्च अदालतले हाम्रो नेपाली पार्टीका तर्फबाट रुपन्देही २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेजीको कारण माग गरेको छ। निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो।
उनीविरुद्ध चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो। उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए।
न्यायाधीश कुमार रेग्मीको इजलासले उनको मागअनुसार अन्तरिम आदेश नदिए पनि उम्मेदवारी खारेजीको कारण माग गरेको छ। साथै कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
डा भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी दिइएको हो। डा भुसाल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह अध्ययन गरिरहेका छन्।