काठमाडौँ- वीर अस्पतालको दाँत विभाग र प्याथोलोजी विभागमा सेवा विस्तार भएको छ। दाँत विभाग अन्तर्गत एण्डो र प्रोस्थो विभागमा डेन्टल माइक्रोस्कोप, डेन्टल ल्याब र डेन्टल कुर्सीहरु थपिएको छ। साथै, प्याथोलोजी विभाग अन्तर्गत फ्लोसाइटोमेट्री र आईएचसि सेवाको विस्तार भएको हो।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सेवा विस्तार गरिएको ब्लकमा रिवन काटेर उद्घाटन गरेका हुन्। दाँत विभागको एण्डो विभागमा दाँत भर्ने लगाएतका कामहरू हुन्छन् भने प्रोस्थोमा कृतिम दाँत, आँखा, नाक र मुख सम्बन्धि उपचार हुन्छ। उक्त विभागहरूमा १७ वटा नयाँ डेन्टल कुर्सीहरु थपिएको छ।

दाँत सम्बन्धी समस्याको लागि बिरामीहरुले लगभग डेढ दुई वर्ष पालो कुर्नुपर्ने बाध्यतालाई कम गर्न सेवा विस्तार गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए। ‘दाँत विभागमा अहिले करिव एक वर्ष भन्दा बढी समयपछि पालो आउने बाध्यता थियो। त्यसकारण अलिक सहज होस् भनेर यो सेवा विस्तार गरिएको छ। अझै दाँत विभागमा ओपीडी र अप्रेसन थियटरको सेवा पनि विस्तार गर्ने गृहकार्य गरिरहेका छौँ। साथै, यो विभागमा नर्सहरुको कमि छ त्यसलाई पनि सम्बोधन गर्ने छौँ,’ उनले भने। दाँत विभागमा हप्ताको ६ दिन नै ओपीडी र ओटी सेवा संचालन गर्न काम भईरहेको समेत उनले बताए।

त्यस्तै दाँत विभागकी विभाग प्रमुख डा शैली प्रधानले सेवा विस्तार हुनाले बिरामीले समयमा उपचार पाउन सजिलो हुने बताएकी छन्। ‘अब केही हदसम्म बिरामीलाई सहज हुनेछ। आगामी दिनहरुमा यस अस्पतालको दोस्रो तल्लामा पुरै दाँत विभागलाई विस्तार गरेर सेवा सर्वसुलभ बनाउन कोसीस गरीरहने छौँ,’उनले भनिन्।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा पोखरेलले पनि दाँतको उपचारको लागि एक डेढ वर्ष कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ भन्दै विभागको सेवा विस्तार भएकोमा खुसी लागेको बताए।