स्वास्थ्य परामर्श दिँदै बलिराज बुढा
सुर्खेत- बलिराज बुढा पेशाले स्वास्थ्यकर्मी हुन्। उनी मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हुन्। उनी आफ्नो पेशा कार्यालयमा मात्रै सिमित राख्दैनन्। कार्यालय बाहेकको समय पनि नागरिकको सेवामा लगाउँछन्।
शनिबारको दिनसमेत बुढा नागरिकको सेवामा खटिन्छन्। पालिकाभित्र सामुदायिक स्वास्थ्य प्रवर्द्धनका लागि भन्दै हरेक महिनाको दुई शनिबार व्यक्तिगत रुपमा निःशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन गर्ने गर्दछन्।
हालसम्म सबै ठाउम पैदल हिँडेर सेवा दिइरहेका बुढा १० वटा बस्तिमा ४०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य परामर्श, सामान्य चेकजाँच र दन्त सेवा दिएको बताउँछन्।
'सेवा नै ठूलो कुरा हो जस्तो लाग्छ त्यसैले म नागरिकको सेवामै रमाउँछु' बुढाले भने।
हालसम्म गरिएको उक्त अभियानमा सेवा लिन आउने अधिकांश व्यक्तिको उच्च रक्चाप , हाड जोर्नि दुख्ने , पेट तथा जुकाको समस्या, गिजा दाँत सम्बन्धी समस्या र छालाको समस्या बढी देखिने गरेको उनले बताए। समुदायमा अझै पनि स्वास्थ्य चेतना कमी रहेको उनी बताँछन्।
विभिन्न खोपको महत्त्व थाहा नहुन , शारीरिक सरसफाइमा कमि , मासु तथा खाना राम्रोसँग नपकायर तथा ताजा नखानु , मादक पदार्थको बढी सेवन गर्नु र महत्त्व दिनु, दैनिक कार्यबाहेक अघिपछि शारीरिक अभ्यास तथा योगा नगर्नु , चिल्लो पिरो अमिलो लगायतका खाना खानु र नियमित स्वास्थ्य परीक्षण नगरी रोगको जटिल अवस्थामा मात्रै स्वास्थ्य सस्था सम्पर्क गर्नु र मुख्यत पराम्परागत उपचार विधि धामि झाक्रिमा बढी विश्वास लगाएतका समस्या देखिएको उनी बताउँछन्।
'धेरै जसो गाउँमा पुग्दा बिरामीको अपेक्षा सुई र औषधिकै देखिन्छ,' उनी भन्छन्, 'तर रोग कसरी रोकथाम गर्ने भन्ने चेतनाको कमी छ त्यहि कुराको चेतना जगाउँन म समुदायमा जाने गर्छु।'
रोग लाग्नु भन्दा रोग लाग्न नदिन सामुदायिक स्वास्थ्य प्रवर्द्धन र यस्ता खालका अभियानको आवश्यक रहेको उनको भनाई छ
अभियानको निरन्तरता
बुढाले संचालन गरेको अभियान अनुसार कार्तिक ५ गते वडा न ६ पुवा गाउँमा चेक जाँच तथा स्वास्थ्य परामर्श प्रदान गरिएको छ। उक्त गाउँका बिरामीलाई दन्त सेवासहित अन्य जाँच तथा स्वास्थ्य परामर्श दिइएको छ।
उक्त गाउँमा मात्रै ५८ जनाले स्वास्थ्य सेवा पाएका छन्। गत जेष्ठ २८गते सुरु गरिएको व्यक्तितग निःशुल्क सेवा सामाजिक सेवाको रुपमा चिनिएको छ। नागरिकहरु पनि हर्षित भएका छन्। उनको अभियानबाट नागरिकहरु लाभान्वित भएको वडा न ७ का अध्यक्ष सशाङ्क लामाले बताए। वडा न छ पुवाका सोनाम तोर्चेले सेवा नै धर्म हुने भन्दै चेक जाँच तथा स्वास्थ्य परामर्शबाट नागरिकहरु पनि खुसी भएको बताए।






