काठमाडौं- नेपाली कांग्रेसले नागरिकलाई सस्तोमा औषधि उपलब्ध गराउन सिधै उत्पादक कम्पनीसँग औषधि खरिद गर्ने व्यवस्था गरिने घोषणा गरेको छ।
कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दै सरकारले सिधै उत्पादक कम्पनी वा उक्त देशसँग औषधि खरिद गरी आफ्नै फार्मेसी मार्फत सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने घोषणा गरेको हो। यसको लागि आवश्यक कानूनी र संरचनागत व्यवस्था गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।
नागरिकलाई सस्तोमा औषधि उपलब्ध गराउन सरकारले सिधै उत्पादक कम्पनी वा देशसँग औषधि खरिद गरी आफ्नै फार्मेसी मार्फत सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनको लागि आवश्यक कानूनी र संरचनागत व्यवस्था गरिनेछ। घोषणापत्रमा उल्लेख गरिएको छ।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सहज रुपमा बिरामीलाई औषधि उपलब्ध गराउनका लागि अस्पताल सेवा फार्मेसी निर्देशिका २०७२ जारी समेत गरेका थिए। सोही निर्देशिका अनुसार देशभरका अस्पतालमा हाल अस्पताल फार्मेसी सञ्चालन भइरहेका छन्।
नेपालमा पाइने जडिबुटी तथा औषधिजन्य पदार्थको संरक्षण र सदुपयोग गर्ने गरी स्वदेशमै औषधि उत्पादनका लागि विशेष योजना ल्याइने पनि घोषणापत्रमा उल्लेख छ। आयुर्वेद चिकित्सा पद्धतिको प्रवद्र्धन र आयुर्वेद जनशक्ति विकासका लागि छुट्टै राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना गरिने भनिएको छ।