काठमाडौं - नेपाली कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सहायक सामग्री घरमा नै उपलब्ध गराउने घोषणा गरेको छ।
कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर, सेता छडी तथा वैशाखी लगायत स्वास्थ्य सहायक सामग्री स्थानीय सरकार मार्फत घरमा नै उपलब्ध गराउने घोषणा गरेको हो।
२०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको करिब २ प्रतिशत अर्थात् करिब ५ लाख १२ हजार व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता देखिएको छ। कुल जनसंख्याको २५ प्रतिशत (करिब ७५ लाख) अर्थात् चारमध्ये एक जनालाई कुनै न कुनै रुपमा सहायक सामग्री चाहिने द र्यापिड एसिसटिभ टेक्नोलोजी एसिसमेन्ट राटा सर्भेले देखाएको थियो। २५ प्रतिशत जनसंख्यालाई सहायक सामग्री आवश्यक भएपनि १० प्रतिशतले मात्र पाइरहेको तथ्यांक छ।
करिब तीन प्रतिशत व्यक्तिलाई ह्लिव चियरको आवश्यकता भएपनि एक प्रतिशतले मात्र ह्विल चियर पाएका छन् भने अझै पनि दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य सहायक सामग्रीको पहुँचबाट टाढा छन्।