पोखरा– नेकपा एमाले गण्डकी प्रदेश कमिटीले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रत्येक वडामा कम्तिमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक पालिकामा एक अस्पताल निर्माण
गरी स्वास्थ्य सेवाका प्राविधिक जनशक्ति व्यवस्थापनसहित सेवा प्रवाहलाई प्रभावकारी बनाईने प्रतिबद्धता पत्रमा उल्लेख छ।
५०० शय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मिर्गौला तथा क्यान्सर उपचारको लागि ५०-५० शय्याको विशिष्टीकृत अस्पताल निर्माण प्रतिबद्धता पत्रमा उल्लेख छ।
नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई कम्तिमा ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवन बनाइने छ। प्राथमिक स्वास्थ केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा १००० डाक्टर, १००० नर्स र १००० जनस्वास्थ्य अधिकृत लगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने छ। प्राथमिक स्वास्थ केन्द्र र प्रादेशिक अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमार्फत बिरामीको रेकर्ड राखी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित गरिने उल्लेख छ।
लोपोन्मुख हिमाली आयुर्वेदीक उपचार पद्दती सेवा (रिक्पा) को जगेर्ना गर्न हिमाली जडिबुटी संरक्षण गतिविधिलाई अभियानका रुपमा संचालन गरिने, सेवा रिक्पा (आम्ची) सम्बन्धी पढाई हुने शैक्षिक संस्थालाई प्रभावकारी बनाउन अनुदानको प्रवन्ध मिलाइने तथा सबै नागरिकलाई नियमित स्वास्थ जाँच गर्न प्रोत्साहन गरिने उल्लेख छ।
प्रतिबद्धता पत्रमा गर्भवती महिला, जेष्ठ नागरिक, अपांगहरुको घर घरमा गई स्वास्थ जाँच गरिने व्यवस्था मिलाइने, सार्वजनिक र निजी अस्पतालहरूमा उपचारको लागि प्रदेशका सबै घरपरिवारको परिवार स्वास्थ्य बिमा गराइने, स्वास्थ्य बिमालाई सजिलो र प्रभावकारी बनाउन अस्पतालहरुमा रिफर नगरी बीमा कार्डका आधारमा उपचार गर्न पाउने व्यवस्था गरिने, स्थानीय पालिकाहरुबाट उपलब्ध गराइने औषधिहरु गुणस्तरीय बनाउने र प्राथमिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल, विश्वविदयालय शिक्षण अस्पतालहरुबीच सञ्जालिकरण गरी विज्ञता तथा अनुभव आदान प्रदानको व्यवस्था गरिने उल्लेख छ।
पूर्णपाठ: