काठमाडौं- निर्वाचन आयोगले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लगि विशेष व्यवस्था गरेको छ।
मंसिर ४ गते, आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अपांगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
यस्तै दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने मतदाताको हकमा एकाघरको परिवारको सदस्यले मतदान गर्न सक्नेछन्।
जसको लगि आफूसँग मत संकेत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नु पर्नेछ। सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले अनुमति दिन सक्नेछन्। साथै मतदान अधिकृतले सहयोग गर्न सक्नेछन्।
निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ८ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको निर्वाचन आयोगले जनाएको छ।
यसै क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ।
यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकेको आयोगले जनाएको छ। यद्यपि ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ। आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छाप लगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने जनाएको छ।