काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफ्नो सरकार आएमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने जनाएको छ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको घोषणापत्र सोमबार सार्वजनिक गर्दै उक्त दलले स्पताल लगायत स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, साधन स्रोत र जनशक्तियुक्त बनाउन, सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विशेष सुविधा दिई राजधानी बाहिर तथा दुर्गम क्षेत्रमा जानका लागि विशेष प्रोत्साहन दिन र सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागु गर्ने जनाएको छ।
यस्तै सरकारी अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरूलाई योगदानका आधारमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तथा वृत्तिविकास लागि विशेष प्राथमिकता प्रदान गरिने उल्लेख छ।
एक हजार क्षमता भएका जिल्ला, प्रादेशिक तथा केन्द्रीय अस्पतालहरूलाई स्टाफ नर्स, हेल्थ एसिस्टेन्ट, फार्मेसी, ल्याब टेक्निसियन जस्ता विषयहरू अध्ययन गराउन दिने गरी क्रमशः अनुमती प्रदान गरिने पनि समाजवादीले उल्लेख गरेको छ।