काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ। आयोगविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा दायर भएको रिटको पेशी मंगलबारलाई तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको छ।
‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।
‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने अवस्थाको देखिन आउँछ।’
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो। तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी हुन्।