काठमाडौं- प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा कमल भुसाल (निकोलस)को मनाेनयन खारेज गर्ने निर्वाचन आयाेगकाे निर्णय सर्वोच्च अदालतले सदर गरेको छ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको मंगलबार संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका उम्मेदवार डा भुसालको रिट खारेज गर्ने फैसला गरेको हो।
निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।
डा भुसालविरुद्ध सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए।
उनीविरुद्ध चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो। उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए।