काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने उल्लेख छ। यसैगरी जिल्लामा इन्टरनल मेडिसिन, प्रसूति तथा स्त्री रोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोनी, सामान्य शल्य चिकित्सा र मानसिक रोगको विज्ञ चिकित्सकसहित ५० देखि १०० शय्याको अस्पताल, प्रत्येक पालिकामा न्यूनतम एक चिकित्सकसहित ६ देखि २५ शय्याको आधारभूत अस्पताल र प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गरिने उल्लेख छ।