काठमाडौं– मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको उपचारका क्रममा मृत्यु भएको छ। कार्यालय समय सकेर घर फर्किने क्रममा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बालाई बिहीबार साँझ सिंहदरबारको पूर्वी गेटमा मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं काठमाडौं मोडल अस्पताल लगिएको थियो। तर, बचाउन नसकिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
अधिकृत सुब्बा परराष्ट्र मन्त्रालय राष्ट्र संघ महाशाखामा कार्यरत थिइन्। २०६९ सालमा सेवा प्रवेश गरेकी उनले इजरायलस्थित नेपाली दूतावासमा समेत सेवा गरेकी थिइन्।
राहदानी विभागमा समेत काम गरेकी उनी पछिल्लो समय अनामनगरमा बस्दै आएकी थिइन्। कार्यालयबाट अनामनगरस्थित निवास जाने क्रममा हनुमानस्थानबाट आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकलका चालक पनि घाइते छन्। उनको अहिले उपचार भइरहेको छ। मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ।