काठमाडौं- निर्वाचन आयोगले ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको छ। निर्वाचन आयोगले सरकारी लाभ लिएको भन्दै डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
तर डा कार्की भने उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च अदालत गएकी थिइन्। सर्वोच्च अदालतले डा कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम हुने जनाएको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको थियो।
मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियो।
‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।


