काठमाडौं– वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउन एलर्जी परीक्षण (स्कीन प्रिक टेष्ट) सेवा सुरु गरेको छ। वीर अस्पतालका निमित्त प्रमुख प्रशासकिय अधिकृत डा भूपेन्द्र बस्नेतले नाक,कान घाँटी (इएनटी) विभागमा एलर्जी परीक्षण सेवाको उद्घाटन गरेका हुन्।
सेवाको उद्घाटन गर्दै डा बस्नेतले वीर अस्पतालमा विशेषज्ञ सेवामा पनि अति विशिष्टकृत सेवाको सुरु गरेको बताए। ‘वीर अस्पतालले विशेषज्ञ सेवा त लामो समयदेखि दिइरहेका छ, अब विशेषज्ञ सेवा मात्र होइन, अति विशिष्टकृत सेवा सुरु गर्न खोजेको हो,’ डा बस्नेतले भने, ‘त्यही अति विशिष्टकृत सेवामध्ये एलर्जी परीक्षण पनि एउटा हो।’
डा बस्नेतका अनुसार त्रिवि शिक्षण अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा एलर्जी हुने कारण पत्ता लगाउने सेवा उपलब्ध छैन। नाक, कान घाँटी रोग विभागकी प्रमुख डा अनिता जिसीका अनुसार एलर्जी भएका बिरामीमा धेरै प्रकारका रोगहरु हुन सक्छन।
नाकमा हुने एलर्जीका कारण हाच्छ्यु आउने, नाकबाट पानी बग्ने, नाक चिलाउने, नाक बन्द हुने समस्या, एलर्जीको कारण छातिमा दाग हुने, दम हुने, आस्थमा हुने, छालामा चिलाउने, डाबर आउने, खानाको कारण एलर्जी हुने, पेट फुल्ने, खाना नै नपच्ने लगायतका समस्या हुनसक्छ।
तर मानिसहरुलाई एलर्जी के कारणले भयो भनेर सहजै पत्ता लगाउन सकिँदैन। के कारणले एलर्जी भयो भनेर एलर्जीको कारण पत्ता लगाउन वीर अस्पतालमा एलर्जी परीक्षण सेवा सुरु गरिएको डा जिसीले जानकारी दिइन्।
‘एलर्जी के कारणले भयो भनेर पत्ता लगाउने परीक्षण हो यो, छालामा सानो सुइले घोचेर त्यहाँ एलर्जी गराउने तत्व राखेर एलर्जीको मुख्य कारक तत्व पत्ता लगाउछौं,’ उनले भनिन्, ‘ एलर्जीको कारण पत्ता लागेमा त्यसको व्यवस्थापन गर्न बिरामीलाई सहज हुन्छ।’
वीर अस्पतालमा सुरु भएको एलर्जी परीक्षणबाट घरमा हुने ढुसी, खानेकुरा, मासु लगायत ४० प्रकारको कारण पत्ता लगाउन सकिने डा जिसीको भनाइ छ।
यो परीक्षणका लागि बिरामीले दुई हजार शुल्क तिर्नुपर्छ। वीर अस्पतालमा एलर्जीको कारण पत्ता नलागेका बिरामीहरु आइरहेकाले यो सेवा प्रभावकारी हुने डा जिसीले बताइन्।
‘बिरामीहरु एलर्जीको समस्या लिएर अस्पताल आउँछन्, एन्टिएलर्जीको औषधि खान्छन् तर के कारणले एलर्जी भयो भनेर थाहै हुदैन, जसले गर्दा बिरामी पुन समस्या लिएर अस्पताल आउछन्,’ डा जिसीले भनिन्, ‘एलर्जी परीक्षणपछि कारण पत्ता लाग्छ जसले गर्दा एलर्जीलाई रोक्न सकिन्छ।’
अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा बस्नेतले नाक, कान, घाँटी सेवाका लागि अहिले देशभर नै नाक, कान, घाँटी विशेषज्ञहरु रहेकाले जनरल नाक, कान र घाँटी सेवा नभइ विशिष्टकृत नाक, कान र घाँटीको सेवाहरुको सुरुवात गर्ने पहिलो कदम भएको बताए।
उनले इएनटी राइनोलोटी, हेड,नेक अंकोलोजी लगायतका विशिष्टकृत सेवाहरु विस्तार गर्न लागेको पनि बताए।
अस्पतालमा ६ दिन इएनटीको ओपीडी सञ्चालन भइरहेकाले र इएनटी सर्जरी ३ दिन मात्र हुने गरेकोमा अबका ६ दिन नै अप्रेसन सेवा पनि सञ्चालन गरिने डा बस्नेतले बताए।
वीरमा हाल १८ जना नाक, कान तथा घाँटी रोग विशेषज्ञ रहेका छन्। अस्पतालमा हाल पनि कान, कान घाँटीको समस्या भएका सर्जरी गर्नुपर्ने बिरामीले ७ महिनासम्म पालो कुनुपर्ने बाध्यता छ।
६ दिन नै सर्जरी सेवा सुरु भएपछि बिरामीले उपचारका लागि पालो कुनुपर्ने बाध्यता नहुने डा बस्नेतको भनाइ छ।