काठमाडौं- नेपाल रेडियोलोजिष्ट संघको आयोजनामा एकदिने निःशुल्क अल्ट्रासाउण्ड शिविर सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिका वडा नं ३ को समन्वयमा जितपुरफेदी स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो।
नेपाल रेडियोलोजिष्ट संघले हरेक वर्ष नोवेम्बर ८ मा विभिन्न कार्यक्रमहरु गरी विश्व रेडियोलोजी दिवस मनाउदै आइरहेको छ। यस वर्ष पनि विश्व रेडियोलोजी दिवसको अवसरमा शिविर आयोजना गरिएको हो।
शिविरमा नेपाल रेडियोलोजी संघका अध्यक्ष प्राडा हेन्सन खड्का, महासचिव डा सुन्दर सुवाल, कोषाध्यक्ष डा हरिओम जोशीले अल्ट्रासाउण्ड सेवा दिएका थिए।
शिविरमा डा किशोर भट्टराई, डा आशिष खड्का र डा दिक प्रसाद कटेलले पनि सहयोग गरेका थिए। शिविरमा पेट र घांटी गरेर २१० जनाको अल्ट्रासाउण्ड गरिएको थियो।
शिविरका साथसाथै विश्व रेडियोलोजी दिवसकै अवसरमा कार्तिक २२ गते नेपाल रेडियोलोजिष्ट संघले प्रभातफेरी र रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ।