काठमाडौं- सत्ता गठबन्धनबाट काठमाडौं ५ मा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसहितले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पौडेलसहितका उम्मेदवारले काठमाडौ क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने बताएका छन्।
'टिचिङ, गंगालाल, कान्ति बाल, नेपाल प्रहरी अस्पताल जस्ता मुख्य अस्पतालको स्तरोन्नती र निजी अस्पताललाई व्यवस्थित गर्दै क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्नेछौं। टोखाको प्रदेश अस्पतालको स्तरोन्नति गर्नेछौं। सबै वडाका प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे तथा ल्याब सहितको स्तरीय सहरी स्वास्थ्य सेवा केन्द्र रुपमा विकास गर्नेछौं।' घोषणापत्रमा भनिएको छ।
यस्तै हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई यथाशीघ्र विस्तार गरी स्वास्थ्य बीमालाई प्रविधिमैत्री बनाउन स्वास्थ्य कार्ड प्रणालीको व्यवस्था गर्ने उनीहरुकाे भनाइृ छ।
यसैगरी गरिब घरपरिवारलाई निःशुल्क प्राथमिक स्वास्थ सेवाको व्यवस्था गर्ने, लागुपदार्थ दुर्व्यसनको समस्या निर्मुल पार्न सचेता कार्यक्रम तथा नियन्त्रणका लागि कानुनी उपचारलाई कडाइका साथ अघि बढाउने, नि:शुल्क स्वस्थ्य शिविर र जनचेतना कार्यक्रमलाई निरन्तर तीव्रता दिने र सबै वडामा पार्कको व्यवस्थापन तथा सार्वजनिक व्यायामशाला निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ।